झापा : वैदेशिक रोजगारीको नाममा हुने ठगी र गैरकानुनी अभ्यासविरुद्ध जिल्ला प्रशासन कार्यालय झापाले कडाइ थालेको छ । अनुगमनको क्रममा दर्ता नगरी सञ्चालनमा रहेका मेनपावर कम्पनीदेखि चिकित्सकविनै स्वास्थ्य परीक्षण रिपोर्ट वितरण गर्ने डायग्नोष्टिक सेन्टरसम्म सिल गरिएपछि झापाबाट देशभर फैलिएको अवैध सञ्जालको जालो सार्वजनिक भएको हो ।
सोमवार बिर्तामोड–१ मा सञ्चालनमा रहेको ‘नवील ओभरसिज’ नामक मेनपावर कम्पनी दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा आएको पुष्टि भएपछि प्रशासनले ताला लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा आएको जिल्ला प्रशासन कार्यालय झापाको अनुगमन टोलीले उक्त मेनपावरमा छापा मार्दा न त वैधानिक दर्ताका कागजात भेटिए, न त खातापाता र आवश्यक प्रमाणपत्र नै । अनुगमनका क्रममा कागजपत्र नभेटिएपछि जिल्ला प्रश्ँसन कार्यालय झापाले मेनपावर कम्पनीमा सिल गरेको छ ।
अनुगमनका क्रममा कम्पनी सञ्चालक संजय योङ्हाङले वैदेशिक रोजगार ऐनअनुसार आवश्यक कागजात देखाउन नसकेपछि इलाका प्रहरी कार्यालय अनारमनीको सहयोगमा मेनपावर कम्पनी सिल गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई आकर्षक प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दै गएकाले प्रशासनले अनुगमनलाई तीव्र बनाएको बताए । ‘दर्ता प्रक्रिया पूरा नगरी अनधिकृत रूपमा सञ्चालनमा आएका मेनपावरहरूलाई छोडिँदैन,’ उनले भने, ‘यस्ता अन्य कम्पनीमाथि पनि क्रमशः अनुगमन गर्दै कानुनी कारबाही अघि बढाइनेछ ।’
स्वास्थ्य परीक्षण पनि औपचारिकतामा सीमित
मेनपावर मात्र होइन, वैदेशिक रोजगारीका लागि अनिवार्य मानिने स्वास्थ्य परीक्षणसमेत झापामा खुलेआम गैरकानुनी अभ्यासमा सीमित रहेको तथ्य अनुगमनबाट बाहिर आएको थियो ।
बिर्तामोडमा सञ्चालनमा रहेको गोदावरी डायग्नोष्टिक सेन्टरमा चिकित्सकको उपस्थितिविनै वैदेशिक रोजगार प्रयोजनका स्वास्थ्य परीक्षण रिपोर्ट वितरण हुँदै आएको पुष्टि भएपछि यस अघि प्रशासनले उक्त सेन्टर पनि सिल गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंको नेतृत्वमा खटिएको टोलीले उजुरीका आधारमा गरेको अनुगमनका क्रममा सेन्टरमा कुनै चिकित्सक उपस्थित नभएको अवस्थामा ‘डा. डी.के. झा’ को नाम र हस्ताक्षर प्रयोग गरी रिपोर्ट वितरण भइरहेको गम्भीर लापरबाही फेला पारेको थियो ।
अनुगमनमा संलग्न अधिकारीहरूका अनुसार नेत्रप्रसाद उप्रेती र जीवन लिम्बूले सञ्चालन गर्दै आएको उक्त डायग्नोष्टिक सेन्टरले कम्तीमा पाँच वर्षदेखि यही शैलीमा वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण रिपोर्ट दिँदै आएको प्रारम्भिक तथ्य खुलेको छ ।
झापामा फेला परेको यो अवस्था केवल स्थानीय समस्या मात्र नभई देशभर व्याप्त वैदेशिक रोजगारीसम्बन्धी बेथितिको प्रतिनिधि उदाहरण भएको प्रशासनको निष्कर्ष छ । मेनपावर, मेडिकल सेन्टर र अन्य सरोकारवाला निकायबीचको मिलेमतोले श्रमिकको स्वास्थ्य, सुरक्षा र भविष्यलाई जोखिममा पारिरहेको भन्दै अब अनुगमनलाई थप प्रभावकारी बनाइने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
प्रशासनको पछिल्लो कदमले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ठगीबाट जोगाउन मात्र नभई अवैध धन्दामा संलग्नलाई कारवाही प्रक्रिया अघि बढाउने सहायक प्रजिअ प्रसाईको भनाई छ ।
यो पनि :- वैदेशिक रोजगारीको मेडिकलमा धन्दाः डाक्टरबिनै रिपोर्ट बाँड्ने गोदावरी डायग्नोष्टिक सेन्टर सिल
प्रतिक्रिया