वैदेशिक रोजगारीको मेडिकलमा धन्दाः डाक्टरबिनै रिपोर्ट बाँड्ने गोदावरी डायग्नोष्टिक सेन्टर सिल

शुक्रबार, ११ पुस २०८२

झापा : वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै बिर्तामोडमा सञ्चालित गोदावरी डायग्नोष्टिक सेन्टर प्रशासनले सिल गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाको अनुगमन टोलीले चिकित्सकको उपस्थिति विना नै नक्कली हस्ताक्षर प्रयोग गरी रिपोर्ट वितरण गरिरहेको फेला पारेपछि उक्त एक्सन लिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा खटिएको टोलीले उक्त सेन्टरमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा सेन्टरमा कुनै पनि चिकित्सक उपस्थित थिएनन्, तर ’डा. डी.के. झा’ को नाम र हस्ताक्षर प्रयोग गरी वैदेशिक रोजगारीका लागि ’फिट’ भएको स्वास्थ्य रिपोर्ट धमाधम वितरण भइरहेको भेटिएको थियो ।

report fake

नेत्रप्रसाद उप्रेती र जीवन लिम्बूले सञ्चालन गरेको यो सेन्टरले विगत ५ वर्षदेखि यसै गरी अवैध रूपमा रिपोर्ट बाँडिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जहाँ स्वास्थ्य परीक्षणका लागि अनिवार्य अनुमति नै नलिई ल्याब प्रयोगशाला सञ्चालन गरिएको समेत फेला परेको छ । 

स्रोतका अनुसार झापाका अन्य ६ वटा डायग्नोष्टिक सेन्टरहरूले पनि मेनपावर व्यवसायीसँगको मिलेमतोमा यस्तै धन्दा चलाइरहेका छन् । श्रमिक पठाएबापत मेनपावर व्यवसायीलाई मोटो कमिसन दिने र डाक्टर नै नराखी मेडिकल रिपोर्ट तयार पार्ने ’सिण्डिकेट’ नै सक्रिय रहेको बुझिएको छ ।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, जिल्ला प्रशासनका यदुनन्दन दाहाल र प्रहरी सहायक निरीक्षक देवकुमार मेचे सहभागी थिए । सहायक प्रजिअ प्रसाईंका अनुसार संकलन गरिएका कागजातमाथि थप अनुसन्धान भइरहेको छ र दोषीमाथि कडा कानुनी कारबाही गरिनेछ ।

anugaman

नेपालबाट वार्षिक ५ लाखभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको सन्दर्भमा यस्ता स्वास्थ्य संस्थाहरूले गर्दा श्रमिकहरू विदेश पुगेपछि ’मेडिकल अनफिट’ भई स्वदेश फर्किनुपर्ने र लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको सरोकारवालाहरूले बताएका छन् । 
 

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार