सुनसरीको हरिनगरमा डाइसमा हारेको विषयमा दुई समुदायबिच झडप हुँदा ११ जना घाइते

सोमबार, १० कार्तिक २०८२

सुनसरी : सुनसरीको हरिनगर गाउँपालिका–१ भुटाहामा आइतबार साँझ डाइस खेल्ने क्रममा सुरु भएको सामान्य विवादले ठूलो रूप लिँदै हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडपको रूप लिएको छ।

झडपमा दुवै पक्षका ११ जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार खेल्ने क्रममा भएको सानो वादविवाद एकाएक सामुदायिक तनावमा रूपान्तरण भयो।

सूचना पाएलगत्तै प्रहरी चौकी भुटाहाका प्रमुख प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) माहानन्द दुलालको कमाण्डमा ३५ जनाको संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण इनरुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अदिल शेर लिम्बुको नेतृत्वमा २० जनाको थप टोली समेत खटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेले घटनालाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार स्थिति थप नबिग्रियोस् भनेर आफू स्वयं घटनास्थलतर्फ जान लागेको बताए । उनले भने, “दुवै पक्षलाई एउटै मञ्चमा राखेर सहज वातावरण बनाउने प्रयास भइरहेको छ ।”

घाइतेहरूको विवरण यसप्रकार छः
 

हिन्दु पक्षबाट

  • चन्दन सदा (२६ वर्ष) — टाउकोमा चोट, हरिनगर स्वास्थ्य चौकीमा उपचाररत।

  • पचुवा मलहा सदा (५० वर्ष) — आँखामा चोट, विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत।

  • राजु दास (४० वर्ष) — टाउको र नाकमा चोट, नोबेल अस्पताल विराटनगरमा उपचाररत।

मुस्लिम पक्षबाट

  • राजा सिद्दिकी (२५ वर्ष) — टाउकोमा चोट, स्थानीय मुन्ना मेडिकलमा उपचारपछि डिस्चार्ज।

  • सोहेल अन्सारी (२० वर्ष) — घुँडामा चोट, उपचारपछि डिस्चार्ज।

  • साजिर सिद्दिकी (२४ वर्ष) — टाउकोमा सामान्य चोट, उपचारपछि घर फर्किएका।

  • अजमल हुसेन (५२ वर्ष) — शरीरमा सामान्य चोट, उपचारपछि घर फर्किएका।

  • फैजान अन्सारी (२३ वर्ष) — शरीरमा सामान्य चोट, उपचारपछि घर फर्किएका।

घटनापछि सुरक्षाको संवेदनशीलता मनन गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाको कमाण्डमा ४२ जना थप सुरक्षाकर्मी खटिएका थिए। साथै सशस्त्र प्रहरी बल नं. ४ गण इनरुवाका सशस्त्र प्रहरी नायब उपरीक्षक मात्रिका पौडेलको नेतृत्वमा ४५ जना थप बल परिचालन गरिएको थियो।

 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार