हिजै मृत्युको खबर फैलिएको सूर्योदय नगरपालिकाकी कर्मचारी रूपा राईको आज मृत्यु

सोमबार, १० कार्तिक २०८२

इलाम । हिजो नै मृत्युको हल्ला चलेकी सूर्योदय नगरपालिका कार्यालयकी सहयोगी रूपा राईको आज उपचारका क्रममा निधन भएको छ । शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका–१०, आहाले नजिक अटो र पिकअप ठोक्किँदा गम्भीर घाइते भएकी राईको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

नगरपालिकाको काम सकेर घर फर्कने क्रममा दुर्घटनामा परेकी राईलाई गम्भीर चोटपटक लागेपछि उनलाई तत्काल उपचारका लागि बि एन्ड सी अस्पताल विर्तामोड लगिएको थियो । तर, अस्पतालले उपचार सम्भव छैन भन्दै फर्काएपछि फिक्कल अस्पताल ल्याइयो । फिक्कल अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा उनको पल्स र ब्लडप्रेसर भेटिएपछि सघन उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल स्थानान्तरण गरिएको थियो । तर, सोमबार बिहानै उनको उपचारकै क्रममा निधन भएको बताइएको छ ।

सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाका अनुसार हाल राईको शव पोष्टमार्टमका लागि फिक्कल अस्पतालमा राखिएको छ । मुचुल्का कार्य सकिएपछि पोस्टमार्टम प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

नगरपालिकाको नियमित कार्य सम्पादनका क्रममा व्यस्त रहँदै आएकी राईको निधनले सूर्योदय नगरपालिकाका कर्मचारी तथा स्थानीय समुदाय शोकमा डुबेका छन् । सबैजना चाडपर्वको माहोलमा रमाइरहेका बेला आफ्नो जिम्मेवारी पूरा गर्न कार्यालय पुगेकी राईको असामयिक निधनले नगरपालिकामा ठूलो क्षति पुगेको मानिएको छ ।

सूर्योदय नगरपालिकाले विज्ञप्ति जारी गर्दै राईको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा उनको योगदान सम्झँदै परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार