इटहरी : विराटनगर–रानीस्थित विराटनगर आँखा अस्पतालले पछिल्लो दुई वर्षयता समुदायका गाउँ–बस्तीमै पुगेर आँखाका बिरामीलाई सेवा दिँदै आएको छ।
यस क्रममा अस्पतालले सात लाखभन्दा बढी व्यक्तिको आँखा परीक्षण गरिसकेको छ। इटहरीका सरोकारवालाले भने यहाँ थप सेवा विस्तार गर्न माग गरेका छन्।
पछिल्ला दुई वर्षमा अस्पतालले ७ लाखभन्दा बढीको आँखा परीक्षण गरेको तथ्याङ्क सार्वजनिक भएपछि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीताकुमारी चौधरीले इटहरीका २० वटै वडा तथा गरिब र पिछडिएका समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन्।
स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्दा सेवाको प्रभावकारिता अझ बढ्ने उनको भनाइ थियो।

अस्पतालले बिहीबार इटहरीमा आयोजना गरेको कार्यक्रममा उपप्रमुख चौधरीले आफ्नै ढङ्गले मात्र काम गर्नुभन्दा स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न सुझाव दिइन्।
कार्यक्रममा इटहरी वडा नं. २ का वडाध्यक्ष माधव कोइरालाले आँखा संवेदनशील अङ्ग भएकाले अस्पतालले गाउँ–बस्तीमै पुगेर सेवा दिनु अत्यन्तै सराहनीय कार्य भएको बताए।
_dVAdK1VqPq.jpg)
उद्योग वाणिज्य सङ्घ इटहरीका उपाध्यक्ष विष्णु डाँगीले अस्पतालसँग सहकार्य गर्न उद्योग वाणिज्य सङ्घ तयार रहेको बताए।
त्यस्तै, नेपाल शिक्षक सङ्घ सुनसरीका सचिव रोवनराज कार्की, प्याब्सनका नारायण सुवेदी, होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीलगायतले अस्पतालले विभिन्न सामाजिक संस्थासँग समन्वय गरेर सेवा विस्तार गर्न सुझाव दिए।
अस्पतालका प्रबन्ध निर्देशक कुमार पृथुले पछिल्लो दुई वर्षमा ७ लाख ३९ हजार ७ सय ८६ जनाको आँखा परीक्षण गरिएको जानकारी दिए।
गाउँ–बस्ती तथा घरदैलो अभियानबाहेक अस्पतालमै उपचार गराउने बिरामीको सङ्ख्या पनि करिब ३ लाख ५० हजार रहेको उनले बताए।
सन् २०२४ मा मात्रै अस्पतालबाट ७२ हजार ४ सय २८ जनाको विभिन्न खाले आँखाको शल्यक्रिया गरिएको छ। हाल अस्पतालले दुई वटा सेकेन्डरी अस्पताल, २२ वटा उपचार केन्द्र र ३४ वटा युनिटमार्फत सेवा दिँदै आएको छ।
पछिल्लो समय मानिसको बदलिँदो जीवनशैली, डिजिटलाइजेसन र बढ्दो गर्मीका कारण आँखाका बिरामीको सङ्ख्या तीव्र गतिमा बढ्दै गएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया