विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा बिहीबार साँझ भएको दुर्घटनामा परेर बालकको मृत्यु भएको छ ।
विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–५ ककडमाडीमा गिट्टी बोकेको टिपरले स्कुटरलाई ठक्कर दिँदा १४ वर्षीय बालकको मृत्यु भएको छ भने स्कुटर चालक उनका बुवा घाइते भएका छन् । प्रहरीका अनुसार विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९७७० नम्बरको टिपरले साँझ करिब ५ बजेतिर उत्तरबाट दक्षिणतर्फ सडक पार गर्दै गरेको प्रदेश १–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटरको पछाडि सवार ग्रामथान–५ बस्नेत १४ वर्षीय अनुप कार्की गम्भीर घाइते भएका थिए । घटनापछि तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएका अनुपलाई चिकित्सकले साँझ ५ः४५ बजेतिर मृत घोषणा गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।
दुर्घटनाले सडक छेउमै रहेका स्थानीयलाई स्तब्ध बनाएको थियो भने घटनास्थलमा केही समय तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो । दुर्घटनामा स्कुटर चालक तथा मृतकका बुवा ग्रामथान–५ का ३५ वर्षीय केशर कार्की घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र नोबेल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ । टिपर चालक सुन्दरहरैँचा नगरपालिका–४ का अन्दाजी २४ वर्षीय सञ्जय चौधरीलाई इलाका प्रहरी कार्यालय हरैँचामा राखिएको छ भने टिपर जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा छ । स्कुटरलाई भने प्रहरी चौकी तेतरियामा राखिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट टिपरको तीव्र गति र चालकको असावधानीका कारण दुर्घटना भएको खुलेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
स्थानीयवासीले सडकमा गिट्टी तथा भारी सवारी साधनको अनियन्त्रित गति रोक्न कडा निगरानी आवश्यक रहेको बताएका छन् ।
प्रतिक्रिया