विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सूर्य भगवानप्रति आस्था, आत्मानुशासन र समर्पणको पर्व छठको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले छठ पर्व नेपाली समाजको साझा पहिचान, सहअस्तित्व र सहिष्णुताको प्रतीक भएको उल्लेख गर्दै यो पर्वले सबैलाई एकतामा बाँध्ने प्रेरणा दिन्छ भन्ने विश्वास व्यक्त गरे। उनले भने, “छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रतिको कृतज्ञता प्रकट गर्छ, जसले मानिस, समाज र वातावरणबीचको सम्बन्धलाई अझ मजबुत बनाउँछ।”
उनका अनुसार यो पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई सुदृढ बनाउने अवसर प्रदान गर्छ। उनले समाजमा शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामना गर्दै सबैलाई छठ पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सबै जात, भाषा, धर्म र संस्कृतिप्रतिको सम्मान र संरक्षणमा प्रतिबद्ध रहेको बताउँदै विविधता भित्रको एकतालाई प्रदेशको पहिचान र गौरवका रूपमा स्थापित गर्न सरकार निरन्तर प्रयत्नशील रहेको उल्लेख गरे।
सूर्य भगवानलाई समर्पित यो पर्वले समाजमा नयाँ ऊर्जा, उत्साह र उमङ्ग ल्याउने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा स्वास्थ्य, सुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना दिएका छन्।
प्रतिक्रिया