कर्मचारी सरुवामै रमाउँदै चुनावी सरकार

सोमबार, १० कार्तिक २०८२

काठमाडौँ : जेनजी आन्दोलनको बलमा गठन भएको ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पाएको सरकार कर्मचारी सरुवामा केन्द्रित भएको छ ।

कर्मचारी प्रशासनभित्र जेनजी समूहको छाप प्रस्ट देखिने गरी गृह मन्त्रालयमा काम सुरु भएको देखिएको छ । जेनजी समूहको परामर्शमा गृहमन्त्रीको प्रत्यक्ष हस्तक्षेपमा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ ।

जेनजी आन्दोलनमा दमन भएको आरोप लागेका जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई आन्दोलन लगत्तै मन्त्रालय तानिएको थियो भने ललितपुर र भक्तपुरमा कुनै मानवीय क्षति भएको थिएन । जिल्ला प्रशासन कार्यालयमा तीन महिना पनि काम गर्न नपाएका प्रमुख जिल्ला अधिकारीहरूको सरुवाले कर्मचारी मनोबलमा असर पर्ने प्रशासनविद्हरू बताउँछन् ।

सरकारले म्यान्डेट भुल्दै कर्मचारी सरुवामा आँखा लगाएको र जेनजी समूहले बनाएको लिस्टअनुसारको प्रतिशोधपूर्ण सरुवाले प्रशासनमा बेथिति बढाउने भन्दै आलोचना भएको छ ।

मन्त्रालयले आइतबार ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

सरुवा सूचीअनुसार ३६ सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । गृह मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तुलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई नयाँ जिल्लामा सरुवा गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको रूपमा सरुवा गरिएको छ भने विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा गरिएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा गरिएको छ भने काभ्रे जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाललाई भक्तपुर सरुवा गरिएको छ ।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार