काठमाडौँ : नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ।
सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो।
साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ।
_Hb6HG40zBw.png)
त्यसैगरी, बैंकको आजै बसेको सञ्चालक समितिको ६९९औँ बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण गरेपछि उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन्।
_oTOGVcxVkF.png)
निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको पनि बैंकले जनाएको छ।
उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उनले विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई), साथै मर्जर सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले रु ५ अर्ब (प्रतिकित्ता अंकित मूल्य रु १०० मा ५ करोड कित्ता) बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ।
यस उपकरण जारी गरेपछि अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट बैंकको पुँजीगत आधार बलियो हुने, जोखिम वहन क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैंकको विश्वास छ।
नबिलले देशभर २६८ शाखा सञ्जाल र ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ र आफ्ना सबै सरोकारवालासँग मिलेर अघि बढ्ने विश्वास राखेको छ।
चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिलले हाल दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ।
बैंकले साधारणसभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक वर्ग, बैंकका कर्मचारी र अन्य सम्बद्ध निकायप्रति आभार व्यक्त गरेको छ।
प्रतिक्रिया