काठमाडौँ : यसपालि धानको उत्पादन घट्ने भएको छ । रोपाइँ गर्ने बेलामा पानी नपरेको र काट्ने बेलामा बेमौसमी वर्षा भएको कारण धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ ।
रोपाइँका बेला वर्षा नपर्दा यस वर्ष धान खेतीको क्षेत्र घटेको थियो भने, धान काट्ने ठिक्क समयमा परेको वर्षाले झन् धेरै क्षति पुर्याएको छ । बेमौसमी वर्षा, बाढी, पहिरो र डुबानलगायत कारण धान उत्पादनमा ५ प्रतिशतभन्दा बढीले कमी आउने कृषि मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
धान रोपाइँका बेला तराई क्षेत्र, विशेषगरी मधेस प्रदेशमा पानी नपरेकाले किसानले समयमा धान रोप्न पाएनन् । खडेरीका कारण मधेस प्रदेशमा रोपाइँसमेत घटेको थियो ।
धान उत्पादन बढी हुने तराईका जिल्लामा बेमौसमी वर्षा र डुबानले उत्पादनमा प्रत्यक्ष असर पारेको हो । वर्षाका कारण देशभर कृषि क्षेत्रमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारका तथ्याङ्कका आधारमा धान उत्पादन घट्ने प्रक्षेपण गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविशेषज्ञ महानन्द जोशीले बताए ।
उनले भने, ‘समयमै वर्षा नपरेको र धान काट्ने बेला परेको बेमौसमी वर्षाले यस वर्षको धान खेतीमा असर गरेको छ । प्रदेशबाट क्षतिको विवरण अझै आउन बाँकी छ । प्रारम्भिक अनुमान हेर्दा गत वर्षको तुलनामा धान उत्पादन घट्ने देखिएको छ ।’
उनका अनुसार गत वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मुलुकभर गत वर्ष १३ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यो वर्ष गत वर्षको तुलनामा धान रोपाइँ क्षेत्र पनि घटेको छ । यही कारण गत वर्ष बढेको धान उत्पादन यस वर्ष खडेरी र बेमौसमी वर्षाका कारण घट्ने देखिएको हो ।
जलवायु परिवर्तनको प्रभावले अतिवृष्टि र अनावृष्टिका कारण कृषि क्षेत्रमा असर बढ्दै गएको छ । पछिल्ला वर्षमा धान उत्पादन बढ्दै गएको भए पनि यस वर्षको बेमौसमी वर्षाले उत्पादनमा प्रतिकूल प्रभाव पारेको छ ।
धानको उत्पादन घटेपछि धान र चामल आयात बढ्ने अनुमान गरिएको छ । भन्सार विभागका तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा २१ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बराबरको ५ लाख ३३ हजार ७१५ मेट्रिक टन धान आयात गरिएको थियो । यस्तै, १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपैयाँ बराबरको २ लाख ४१ हजार ५५३ मेट्रिक टन चामल आयात गरिएको थियो ।
प्रतिक्रिया