धरान : डिआइजिपी रनिङ फुटबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस स्कुल धरान (रातो) फाइनलमा प्रवेश गरेको छ।
कोशी प्रदेशस्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल धरान (रातो) ले सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचा, मोरङलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
खेलको दोस्रो हाफको ४६औँ मिनेटमा जर्सी नम्बर १७ का विप्लव थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ५६औँ मिनेटमा जर्सी नम्बर १० का कप्तान समिर राईले दोस्रो गोल गरे। इन्जुरी समयको ७१औँ मिनेटमा जर्सी नम्बर ७ का बिकास मगरले तेस्रो गोल गर्दै नेपाल पुलिस स्कुल धरान (रातो) को जित सुनिश्चित गरे।
प्रतियोगिताको ‘उत्कृष्ट खेलाडी’ को उपाधि नेपाल पुलिस स्कुल धरानका जर्सी नम्बर ७ का बिकास मगरले प्राप्त गरे। उनलाई विशेष अतिथि इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक भीषणबाबु राईले नगद रु १ हजार ५ रुपैयाँसहित मेडल प्रदान गरे।
पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी पुस १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयका टिमको सहभागिता रहेको छ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाईका प्रहरी नायव उपरीक्षक उपेश कुमार चौधरी, प्रहरी निरीक्षक जीवन गौतम, शम्भु बस्नेत, आसरा सुधार केन्द्र पानवारी धरानका प्रमुख प्रहरी निरीक्षक रोशन थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङ, विद्यालयका शिक्षक, प्रहरी कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताअन्तर्गत भोलि पुस १७ गते दोस्रो सेमिफाइनल खेल प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरान र पिनाकल ज्ञान मन्दिर सुन्दरहरैँचा, मोरङबीच हुने आयोजकले जनाएको छ।
नेपाल पुलिस स्कुल धरानद्वारा आयोजित ७औँ कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता–२०८२ नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेलमैदानमा सञ्चालन भइरहेको छ।
प्रतिक्रिया