जेनजी आन्दोलनको रहस्यमयी सूत्रधार: सुदन गुरुङ कसरी बने नयाँ राजनीतिक मुहार?

शनिबार, १५ कार्तिक २०८२

काठमाडौं : जेनजी आन्दोलनका क्रममा पानी बाँड्दै हिँडेको दृश्यबाट पहिचान बनाउन पुगेका सुदन गुरुङ आज नयाँ राजनीतिक दिशाका सूत्रधारका रूपमा उदाएका छन्।

जेनजी विद्रोहपछि निर्वाचित सरकार ढलेको अवस्थाको रिक्ततामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तथा मन्त्रिपरिषद्मा अन्य सदस्य चयन गर्ने प्रक्रियामा उनी सक्रिय देखिए। कतिपय विवादास्पद अभिव्यक्ति, शैली र शंकास्पद सम्बन्धका कारण उनका भूमिकाप्रति प्रश्न उठे पनि आन्दोलनबाट उदाएका नेताहरूमा उनी अग्रपंक्तिमा छन्।

आन्दोलनको सुरुआतमा उनी पानी बाँड्ने र स्वयंसेवा गर्ने भूमिकामा मैदानमा देखिन्थे। बानेश्वरमा गोली चलेपछि घाइतेहरूको उद्धार र उपचारमा पनि सुदन र उनको ‘हामी नेपाल’ संस्थाका सहकर्मी सक्रिय भए। सडकदेखि शीतल निवास, अस्पतालदेखि आर्यघाटसम्म धाउँदै उनी नयाँ नेतृत्वको रूपमा स्थापित भए। एकाएक जनआन्दोलनको केन्द्रमा आएपछि धेरैको चासो उब्जियो— आखिर सुदन गुरुङ को हुन्?

जेनजी आन्दोलनअघि उनी सामाजिक अभियन्ताका रूपमा परिचित थिए। आन्दोलनपछि चाहिँ उनी राजनीतिक प्रभाव राख्ने व्यक्ति रहेको पुष्टि भयो। समयक्रमसँगै उनी सामाजिक अभियन्ता मात्र नभई युवा चेतनासहित डिजिटल संचारको दक्षता भएका नेताका रूपमा देखिएका छन्।

गुरुङको जीवन यात्रा सामाजिक सक्रियताबाट सुरु भएर निरन्तरता पाउँदै आएको छ। गोरखाको चुमनुम्री गाउँमा जन्मिएका ३६ वर्षीय गुरुङ किशोरावस्थामै क्लब व्यवस्थापन र इभेन्ट म्यानेजमेन्टमा संलग्न थिए। २०७२ को महाभूकम्पका बेला उनी २६ वर्षका थिए र त्यसपछि राहत कार्यमा खटिए, जसले उनलाई सामाजिक अभियन्ताका रूपमा चिनायो।

सोही अनुभवका आधारमा उनले ‘हामी नेपाल’ नामक गैरसरकारी संस्था स्थापना गरे। संस्था सुरुमा भूकम्प, बाढी र पहिरो प्रभावित क्षेत्रमा राहत कार्यमा केन्द्रित थियो, पछि नागरिक सचेतना, शासन प्रणाली र युवाको सहभागिताबारे बहस सञ्चालन गर्दै आयो।

जेनजी आन्दोलनका क्रममा यो संगठनले डिजिटल माध्यममार्फत युवालाई जोड्ने काम गर्‍यो। विशेषगरी इनस्टाग्राम र डिस्कर्डमार्फत युवालाई संगठित गर्दै आन्दोलनमा सहभागी गराउने रणनीतिमा गुरुङलाई सफल मानिन्छ। यसरी उनले परम्परागत सडक आन्दोलनभन्दा फरक— डिजिटल र युवामुखी आन्दोलनको नयाँ मोडेल प्रस्तुत गरे।

तर गुरुङ विवादमुक्त भने छैनन्। उनको संस्थामा ठूलो रकम संकलन भएको दाबी गरिन्छ। विदेश वा राजनीतिक नेटवर्कसँग सम्बन्ध, ठेक्का तथा व्यापारिक गतिविधिसँग नजिकिएको आरोप, र युवा आन्दोलनको नेतृत्व कब्जा गर्ने प्रयत्नका आलोचना पनि छन्।

आलोचकले आन्दोलनको नेतृत्व व्यक्तिगत शक्ति र पहुँचमा केन्द्रित हुन सक्ने जोखिम औंल्याएका छन्। तर यथार्थ यही हो— हालको राजनीतिक परिवेशमा गुरुङको भूमिकालाई नकार्न सकिँदैन। उनी जेनजी आन्दोलनको अग्रपंक्तिमा देखिए र आन्दोलनमार्फत बदलिएको राजनीति कता जाने भन्ने मार्गचित्र बनाइरहेका छन्।

गुरुङ र उनको समूहले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेको थियो, जसको छलफल डिस्कर्डमै भएको उल्लेख पाइन्छ। यसले देखाउँछ— गुरुङको प्रभाव केवल सामाजिक आन्दोलनसम्म सीमित छैन; उनी प्रत्यक्ष राजनीतिक निर्णय प्रक्रियामा पनि प्रभाव राख्छन्।

व्यवहार र गतिविधि विश्लेषण गर्दा गुरुङ डिजिटल केन्द्रित, युवा उन्मुख र सामाजिक सेवा अनुभवले परिपक्व व्यक्तित्वका रूपमा देखिन्छन्। आफूलाई स्वयंसेवक भन्दै आए पनि हालको नयाँ राजनीतिक आन्दोलनको दिशा, संरचना र नेतृत्वमा उनी प्रभावशाली छन्।

युवा ऊर्जा परिचालन गर्ने क्षमता, सञ्चारमाध्यम प्रयोगको सीप र डिजिटल नेतृत्व उनका प्रमुख पहिचान बन्न पुगेका छन्।

आगामी दिनमा गुरुङको भूमिका नेपालका सामाजिक तथा राजनीतिक परिवर्तनमा निर्णायक बन्न सक्छ। यदि उनले पारदर्शिता, जनसमर्थन र सेवा भावना कायम राखे भने नयाँ पुस्ताको नेतृत्व मोडेल प्रस्तुत गर्ने सम्भावना छ। तर नेतृत्व व्यक्तिगत शक्ति र सञ्जालमा मात्रै केन्द्रित भयो भने आलोचना र विश्वास संकट उत्पन्न हुने जोखिम पनि उस्तै छ। त्यसैले अवसर र चुनौती दुवै बोकेका सुदन गुरुङ जेनजी आन्दोलनका महत्त्वपूर्ण सूत्रधारका रूपमा स्मरण हुने निश्चित छ।

आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार