इलाम : गोरखा वेलफेयर ट्रस्ट फिदिम शाखाको सहयोगमा इलामको एक विद्यालयलाई तीन लाख रुपैयाँभन्दा बढी मूल्यका शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।
इलाम नगरपालिका–१२ मा रहेको रत्नलक्ष्मी आधारभूत विद्यालयलाई कक्षा कोठा तथा कार्यालय व्यवस्थापनका लागि आवश्यक फर्निचर र अन्य सामग्री गरी कुल ३ लाख ४ हजार १०८ रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको हो।
विद्यालयलाई ४० सेट फलाम जडित डेक्स, एक सेट सोफा सेट, एक थान राउण्डिङ टेबल, दुई थान कुर्सी, एक थान टेबल तथा कार्पेट हस्तान्तरण गरिएको जनाइएको छ। उक्त सामग्रीले विद्यालयको भौतिक व्यवस्थापन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधि तथा गोरखा वेलफेयर ट्रस्ट फिदिम शाखाका इञ्जिनियर लक्ष्मीप्रसाद राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार लिम्बू, समितिका सदस्यहरू याम कटुवाल, जानुका कोइराला, ठगेन्द्र कटुवाल र हर्कमान फेजङ, निमित्त प्रधानाध्यापक तीलबहादुर लिम्बू, सूचना अधिकारी नीरकुमार खतिवडासहित अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले शैक्षिक पूर्वाधार सुदृढीकरणमा यस्ता सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका थिए।
प्रतिक्रिया