आपसी विवादले भाक्का दिवसको गरिमामाथि प्रहार

सोमबार, २८ पुस २०८२

झापा : राजवंशी समुदायले विगत ९ वर्षदेखि आदिवासी परिकार भाक्कालाई प्रवर्द्धन गर्दै मनाउँदै आएको राष्ट्रिय भाक्का दिवस यस वर्ष आपसी विवादले प्रभावित बनेको छ। मोरङ र झापामा दुईवटा समानान्तर राजवंशी समाज विकास समितिहरूबीच आधिकारिकताको दाबीले समुदायभित्रै एकता कम गर्दै भाक्का दिवसको गरिमामाथि प्रत्यक्ष असर पारेको छ।

विगत चार वर्षदेखि मोरङका सुवन्त राजवंशी नेतृत्वको समिति र झापाका अभय राजवंशी नेतृत्वको अर्को समितिका बीच लगातार तनाव देखिन थालेको छ। दुवै समूह आफूलाई आधिकारिक भन्दै एक अर्काविरुद्ध कडा रुपमा उत्रिदै आएका छन्।

उक्त विवादका बीच, अभय राजवंशी नेतृत्वको समूहले बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा नवौं राष्ट्रिय भाक्का दिवस आयोजना गरिरहँदा, मोरङ समिति नेतृत्वले राजवंशी समाज विकास समितिको नाममा कार्यक्रम नगर्न चेतावनी दिएको छ। सुवन्त नेतृत्वको समिति जिल्ला अध्यक्ष उत्तम राजवंशीका अनुसार, झापा जिल्ला अदालतले आफ्नो समितिलाई आधिकारिकता प्रदान गरेको छ र अनाधिकृत कार्यक्रम कानुनी रुपमा स्वीकार्य नभएको छ।

सोमवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उत्तम राजवंशीले भने, “जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र बिर्तामोड नगरपालिका–३ का कार्यालयले समेत अनाधिकृत कार्यक्रम नगर्न निर्देशन दिइसकेका छन्। कानुन हातमा लिएर कार्यक्रम गर्नु उचित छैन।”

तर अभय राजवंशीले भने आफ्नो समितिको कार्यक्रम तयारी सकिएको र भाक्का दिवस यस वर्ष पनि आयोजना गर्ने स्पष्ट प्रतिक्रिया दिएका छन्। उनले आगामी दिनमा विगतको भन्दा अझ भव्य रुपमा कार्यक्रम आयोजना गर्ने योजना रहेको बताए।

समुदायका बिर्तामोड निवासी राम राजवंशी भन्छन्, “संस्थाको आधिकारिकता विवादले दुईवटा समितिलाई समानान्तर बनाएको छ, जसले भाक्का दिवसको गरिमामाथि प्रहार गर्दै समुदायको अस्तित्वमाथि समेत चिन्ता थपेको छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार