युवामा सकारात्मक सोच र आत्मविश्वास जगाउन रक्तिम इटहरी इन्टरनेशनल कलेजमा

विहीबार, २७ कार्तिक २०८२

विराटनगर : बदलिँदो विश्वव्यापी परिवेशमा विद्यार्थीहरूलाई व्यावहारिक सीप र नेतृत्व क्षमतामा सशक्त बनाउने उद्देश्यका साथ इटहरी इन्टरनेशनल कलेजले अतिथि व्याख्यान तथा मेन्टरसिप सत्रहरूको नयाँ शृङ्खला सुरु गरेको छ।

यस शृङ्खलाको दोस्रो दिन बुधवार सौन्दर्य, उद्यमशीलता र समाजसेवाको सङ्गम बनेकी रक्तिम जोशी प्याकुरेलले ‘सकारात्मक सोच र उद्यमशीलता’ शीर्षकमा आफ्नो अनुभव बाँडिन्।

उनीले युवाहरूमा बढ्दै गएको नकारात्मक सोचलाई हटाउँदै सकारात्मक ऊर्जा, आत्म–विश्वास र व्यवहारिक सीपमार्फत जीवनमा सफलता हासिल गर्न सकिने सन्देश दिइन्। उनका शब्दमा, “हाम्रो माइन्ड फ्री र पोजेटिभ हुँदा मात्र हामी जीवनमा वास्तविक सफलता हासिल गर्न सक्छौँ।”

उद्यमशीलताको प्रेरणा र सामाजिक प्रतिबद्धता
रक्तिम जोशी प्याकुरेल कोशी प्रदेशमै एक प्रेरणादायी उद्यमी, प्रतिष्ठित ब्युटी एजुकेटर र समर्पित सामाजिक अभियन्ता हुन्। उनले सौन्दर्य व्यवसायलाई आत्मनिर्भरता र सामाजिक सशक्तीकरणसँग जोड्दै नयाँ पहिचान निर्माण गरेकी छन्।

अर्किड फ्यामिली सलोन एन्ड एकेडेमीकी निर्देशकका रूपमा उनले सौन्दर्य शिक्षामा व्यावसायिकता र गुणस्तरको नयाँ मापदण्ड स्थापित गरेकी छन्। सीटीईभीटीसँग सम्बद्ध उक्त संस्थाले युवाहरूलाई सीप र आत्म–विश्वास प्रदान गर्दै आत्मनिर्भर जीवनको बाटो देखाउँदै आएको छ।

त्यस्तै, उनको नेतृत्वमा सञ्चालित अर्किड प्योर रेडिएन्स स्किनकेयर ब्रान्ड प्राकृतिक सौन्दर्य, आत्म–हेरचाह र स्वस्थ जीवनशैलीमा केन्द्रित छ। यो ब्रान्डमार्फत उनले सौन्दर्यको परिभाषालाई बाह्य रूपभन्दा पनि आन्तरिक सन्तुलन र आत्म–विश्वासमा आधारित अभियानको रूपमा अघि बढाएकी छन्।

सामाजिक क्षेत्रमै पनि उनको योगदान उल्लेखनीय छ। रेड्स फाउन्डेसनमार्फत उनले शिक्षा, सीप विकास र सामुदायिक सशक्तीकरणका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएकी छन्।

उनी हाल Women Entrepreneurs Association of Nepal (नेपाल महिला उद्यमी सङ्घ) मोरङकी प्रथम उपाध्यक्षका रूपमा समेत रहेकी छिन । साथै, च्याम्बर अफ इन्डस्ट्री मोरङ र स्मार्ट पैरन्टिङ नेपालमा पनि उनको सक्रिय सहभागिता रहेको छ।

लायन्स क्लब अफ विराटनगर पाथीभराकी पूर्व अध्यक्षका रूपमा उनले समाजसेवामा उल्लेखनीय योगदान दिएकी छन्। हाल पनि उनी लायन्स र रोटरी दुवै संस्थामार्फत विभिन्न सामाजिक अभियानमा संलग्न छिन्।

कलेजका अनुसार, यस्ता अतिथि सत्रहरूले विद्यार्थीहरूलाई शैक्षिक सीमाभन्दा पर गएर नेतृत्व, उद्यमशीलता र व्यावसायिक व्यवहारमा सक्षम बनाउने दिशा लिएका छन्। प्याकुरेलले सन्देश दिइन् —“तपाईँको सानो इमानदार प्रयास पनि देशको विकासको हिस्सा बन्न सक्छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार