कुनै पनि स्वामित्वसमेत नरहेको खड्का ल्यान्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का

शुक्रबार, २८ कार्तिक २०८२

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका हुन् ।

कुनै पनि स्वामित्वसमेत नरहेको खड्का ल्यान्डसँग चरित्रहत्या गर्ने उद्देश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाई छ । यसले व्यक्तिगत र राजनीतिक जीवनमा आघात पुगेको समेत उनले बताए ।

नेता खड्काले विज्ञप्ति मार्फत भनेका छन्, ‘नेपाल स्काउटको भाडा विवादको विषयमा मेरो नाम जोडेर विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो कुनै पनि स्वामित्वसमेत नरहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिसँग बारम्बार नाम जोडेर चरित्रहत्या गर्ने उद्देश्यले विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारले मेरो व्यक्तिगत र राजनीतिक जीवनमा गम्भीर आघात पुगेको छ ।’

उनले आफू हरेक कुरामा पारदर्शी र जबाफदेही रहेको भन्दै केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग आफ्नो नाम जोडेको बताए ।

‘केही गिरोहले आफ्नो क्षणिक स्वार्थका लागि मेरो नाम जोडेर बदनाम गराउने र मेरो राजनीतिक प्रतिसोध साँध्ने खेलमा लागेका छन् । मेरो जीवन खुला किताबजस्तो हो । मेरो हरेक कुरा पारदर्शी र जबाफदेही छ । राज्यको चौथो अङ्ग रूपमा रहेको सञ्चार जगतले सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशित गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’उनले विज्ञप्ति मार्फत भनेका छन् ।

खड्का ल्यान्डले लामो समयदेखि काठमाडौँ लैनचौरस्थित नेपाल स्काउटको जग्गामा संरचना बनाएर जग्गाको भाडासमेत नतिरेको विवाद उत्पन्न भएको थियो । त्यससँगै बिहीबार युवा तथा खेलकुद मन्त्रालयले काठमाडौँ महानगरको सहायतामा खड्का ल्यान्डको संरचनामा डोजर चलाएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार