जिफन्टसँग श्रमिकको आक्रोश : महँगी आकाशियो, ज्याला उस्तै !

शनिबार, २९ कार्तिक २०८२

धरान : धरानका विभिन्न क्षेत्रका श्रमिकहरूले आफ्ना पीडा र समस्याहरू जिफन्ट सामु राख्दै महँगीसँगै न्यून ज्यालाको समस्या अब सहन नसक्ने चेतावनी दिएका छन्।

जिफन्ट नगर कमिटीद्वारा शनिबार आयोजित श्रमिक–संवाद कार्यक्रममा निर्माण, यातायात, उद्योग, अटो मेकानिक्स, सुरक्षा, सरसफाइ, लोड–अनलोड, स्वास्थ्य स्वयंसेवी तथा सौन्दर्यकर्मी श्रमिकहरूले खुलेर गुनासो पोखेका थिए।

स्वास्थ्य स्वयंसेवी मनकुमारी लिम्बूले वर्षौंदेखि मात्र चार सय भत्ता लिएर जनस्वास्थ्यका लागि खटिँदा पनि स्थानीयदेखि प्रदेश–संघसम्मका सरकार निरन्तर बेवास्ता गरिरहेको बताइन्।

“हामी दिनरात, घाम–पानी काम गर्छौं। तर न हाम्रो आवाज सुन्छन्, न हाम्रो अवस्था सुधारिन्छ। जिफन्टले हाम्रो मुद्दा उठाइदिनुपर्छ,” लिम्बूको माग छ।

महँगी चुलियो, तर ज्याला उस्तै  : लोड–अनलोड श्रमिकको चीत्कार

लोड–अनलोड श्रमिक अमर राईका अनुसार उद्योगी–व्यवसायीको दबाबमा श्रमिकहरू वर्षौंअघिकै ज्यालामा काम गर्न बाध्य छन्।

“सामानको भाउ दिनदिनै बढ्छ, तर हाम्रो ज्याला कहिले बढ्ने हो? जिफन्टले तत्काल दररेट निर्धारण गर्न दबाब दिनुपर्छ,” राईले चुनौतीसहित भने।

निर्माण मजदुर मुक्तिनाथ गिरीले नगर सरकारले निर्माण श्रमिकहरूको सूचिकरणसमेत गर्न नसक्दा उनीहरू सामाजिक सुरक्षा योजनादेखि बाहिर परेको बताए।

“मेयर हर्क राईका कारण सूचिकरण नै भएको छैन। अब सबै मजदुर एकजुट भएर नगर सरकारलाई दबाब दिनुपर्छ,” गिरीको धारणा छ।

अटो मेकानिक्स संकटमा : विद्युतिय सवारी बढे, भारतीय कामदारको भीडले रोजगारी खोस्यो

अटो मेकानिक्स श्रमिक हरी भट्टराईले विद्युतिय सवारी साधनको वृद्धि र स्थानीय सरकारको कमजोर नीति–नियमका कारण नेपाली मेकानिक्स बेरोजगार बन्न थालेको बताए।

“भारतबाट दैनिक कामदारहरू धरान आएर दिनभर काम गर्छन्, साँझ भारत फर्कन्छन्। स्थानीय सरकार देखेन, नदेखेजस्तो गर्‍यो,” भट्टराईको आरोप छ।

कार्यक्रममा उठेका सवालहरूमा जिफन्ट उपाध्यक्ष तथा कोशी संयोजक विदुर कार्की, सचिव बेलीमाया घले र भीमज्वाला राईलगायतले योजनाबद्ध जवाफ दिए।

जिफन्ट नगर अध्यक्ष समशेर बर्देवाको अध्यक्षता तथा सचिव डम्बर अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा धरानका ४५ जना अग्रज श्रमिकहरूको सहभागिता थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार