झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना

शुक्रबार, ०२ माघ २०८२

झापा : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको  कार्यालय स्थापना गरिएको छ । 

झापामा जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति भद्रपुरमा स्थापना गरिएको छ । त्यसैगरी क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा ,क्षेत्र नम्बर २को अर्जुनधारामा , क्षेत्र नम्बर ३ को भद्रपुर ,क्षेत्र नम्बर ४ को कनकाई र क्षेत्र नम्बर ५ को दमकको कृषि केन्द्र परिषरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

 

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति नजिकी रहेको समय नेपाली राजनीतिको ‘पावर सेन्टर’ का रूपमा समेत हेरिने झापामा चुनावी सरगर्मी बढ्न थालेको छ । 

 

झापाका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले भद्रपुरमा मुख्य कार्यालयको उद्घाटन गर्दै संविधान र कानुनको मर्मअनुसार स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन निर्वाचन प्रशासन प्रतिबद्ध रहेको बताए । उनले निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, सञ्चारकर्मी र आम मतदाताको सहयोग अपरिहार्य हुने समेत उल्लेख गरे ।

 

“निर्वाचन केवल निर्वाचन आयोग वा प्रशासनको जिम्मेवारी मात्र होइन, यो लोकतन्त्रको साझा उत्सव हो,” लुइँटेलले भने, “कानुनको दायराभित्र रहेर प्रतिस्पर्धा गर्न र निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दछु।”

निर्वाचन अधिकृतका कार्यालयले सम्बन्धित निर्वाचन क्षेत्रभित्र हुने सम्पूर्ण निर्वाचनसम्बन्धी कामको केन्द्रका रूपमा भूमिका निर्वाह गर्नेछन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार