झापा : झापाको दमक नगरपालिका–१ स्थित सुकुम्बासी बस्तीमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध हातहतियारको पार्टपुर्जा बरामद गरिएको छ ।
दमक–१ सुकुम्बासी बस्ती बस्ने डेकबहादुर थापाको घरभित्र हातहतियार लुकाइएको छ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको टोलीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा थापा बस्दै आएको जस्ताको बेराले बनेको र जस्ताकै छानो भएको टहराभित्र भुईँमा बालुवाले पुरी राखिएको अवस्थामा सर्टगनको बटको भाग फेला परेको प्रहरीले जनाएको छ । उक्त एक थान बेसाबुत हातहतियारको पार्टपुर्जा तत्काल बरामद गरी सुरक्षित रूपमा इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको उक्त हातहतियार जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटी लगिएको अभिलेखबाट पुष्टि भएको छ ।
घटनापछि घरधनी डेकबहादुर थापा फरार रहेकाले उनको खोजतलास कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
प्रतिक्रिया