काठमाडौँ : निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिक मान्यता दिएसँगै नव–निर्वाचित सभापति गगनकुमार थापाले निर्णयलाई स्वाभाविक र विधिसम्मत भएको बताएका छन् ।
आयोगको निर्णय सार्वजनिक हुनासाथ एक अनलईसंगको विशेष अन्तर्वार्तामा थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष, शेखर कोइराला पक्ष तथा विशेष महाधिवेशनमा अनुपस्थित रहेका कांग्रेस कार्यकर्ताहरूलाई “हारेको महसुस नगर्न” आग्रह गरेका छन् ।
उहाँले भने, “यो पार्टी फुटको विषय होइन, नेतृत्व परिवर्तनको लोकतान्त्रिक प्रक्रिया मात्र हो। अधिवेशनको चरण सकिएको छ, अब म सबैको सभापति हुँ।”
आयोगप्रति विश्वास व्यक्त
निर्वाचन आयोगको निर्णयबारे प्रतिक्रिया दिँदै थापाले सुरुदेखि नै संवैधानिक निकायले विधि र विधानअनुसार निष्पक्ष निर्णय गर्ने विश्वास आफूहरूमा रहेको बताए। “निर्वाचन आयोगले जनविश्वास र प्रतिष्ठा आर्जन गरेको संस्था हो। विधिसम्मत अधिवेशनलाई स्वीकार गर्छ भन्ने विश्वास सही सावित भएको छ,” उनले भने।
आन्दोलन र अदालतको चेतावनीप्रति संयम
पूर्व उपसभापति पूर्णबहादुर खड्काले निर्णयविरुद्ध आन्दोलनको चेतावनी दिएको सन्दर्भमा थापाले असहमति राख्न पाउने अधिकार भए पनि विधिसम्मत निर्णय सबैले स्वीकार गर्नुपर्ने बताए।
“रोषको क्षणमा त्यस्ता अभिव्यक्ति आएका होलान्। अब सबै साथीहरूले आयोगको निर्णय स्वीकार गर्नुहुनेछ,” उनले विश्वास व्यक्त गरे।
सर्वोच्च अदालत जाने चेतावनीबारे उनले विवाद यहीँ टुंग्याउन आग्रह गर्दै भने, “यो पार्टी फुट होइन। केही समय मनमा असन्तुष्टि होला, तर अन्ततः हामी एक ठाउँमा उभिन्छौँ।”
देउवाप्रति सम्मान कायम रहने
निवर्तमान सभापति शेरबहादुर देउवाको भूमिकाबारे थापाले पार्टीले सधैँ सम्मानजनक व्यवहार गर्ने स्पष्ट पारे।
“उहाँ हाम्रो संरक्षक हुनुहुन्छ। उहाँको अनुभव र आशीर्वाद पार्टीलाई चाहिन्छ,” उनले भने।
गुटगत राजनीति अन्त्य
टिकट वितरणमा पक्षपात हुने आशंकाबारे थापाले विशेष महाधिवेशनले गुटगत राजनीतिलाई विधिगत रूपमा अन्त्य गरेको दाबी गरे।
“विशेष अधिवेशनमा सहभागी नहुनुभएका साथीहरूलाई पनि म आह्वान गर्छु—अब सबैलाई समान व्यवहार हुन्छ,” उनले भने।
प्रतिशोधको राजनीति नगर्ने
विगतमा आफूहरूलाई कारबाही गरिएको प्रसंग उठाउँदा थापाले प्रतिशोधको बाटो नलिने प्रष्ट पारे।
“कारबाही गर्ने कुरा हामी सोच्न पनि सक्दैनौँ। राम्रा कुरा सिक्ने र सुधार गर्नुपर्ने कुरा सुधार्ने हो,” उनले भने।
षड्यन्त्र आरोपको खण्डन
शेखर कोइरालाले विशेष महाधिवेशनलाई बाह्य शक्तिको षड्यन्त्र भनेकोप्रति थापाले आपत्ति जनाए।
“यसलाई षड्यन्त्र भन्नु हजारौँ कार्यकर्ताको अपमान हो। यो रोषको अभिव्यक्ति मात्र हो,” उनले भने।
आगामी निर्वाचन र नियमित महाधिवेशन
थापाले पार्टीको प्राथमिकता आगामी निर्वाचन भएको बताए।
“१६५ वटै निर्वाचन क्षेत्रबाट टिकट सिफारिस आइरहेका छन्। भोलिबाट औपचारिक प्रक्रिया सुरु हुन्छ,” उनले जानकारी दिए। साथै, वैशाखमा नियमित महाधिवेशन गर्न आफूहरू तयार रहेको पनि बताए।
सानेपा विवाद र शान्त व्यवस्थापन
सानेपा मुख्यालयमा एक पक्षले कार्यालय कब्जा गरेको विषयमा थापाले मुठभेडको राजनीति नगर्ने स्पष्ट सन्देश दिए।
“पार्टी भनेको भवन होइन, विचार हो। कानुनी जिम्मेवारीसहित शान्त रूपमा अगाडि बढ्छौँ,” उनले भने।
परराष्ट्र नीतिमा निरन्तरता
भू–राजनीतिक अडानबारे थापाले पार्टीको मूल नीति र संविधानअनुसार नै निरन्तरता रहने बताए।
प्रतिक्रिया