कांग्रेस सभापति गगन थापाले गरे एकताबद्ध अगाडि बढ्न अपील

शुक्रबार, ०२ माघ २०८२

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताबद्ध भएर अगाडि बढ्न सबै सदस्य, शुभेच्छुक र आम जनसमुदायमा हार्दिक अपील गरेका छन्।

थापाले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्ट पारेका छन् कि नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित छन् र विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधानअनुसार निर्णय गरेकोमा सभापति थापाले आभार व्यक्त गरेका छन्।

उनले सबै सहभागी तथा अनुपस्थित, सहमत र असहमत सदस्यहरूलाई आह्वान गर्दै भने, “यो विधि–विधानले प्रधानता पाएको हो, जय–पराजयको विषय होइन। कुनै अलमल नपरोस्, सबै संयमित र जिम्मेवार बनौं। अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ।”

सभापति थापाले पार्टीभित्र अब कुनै गुट वा गुटगत भागबण्डा नरहने स्पष्ट पारे। उनले यस यात्रामा पूर्व सभापति शेरबहादुर देउवा लगायत विभिन्न तह र निकायका अग्रजहरूको सहयोग रहने विश्वास व्यक्त गरे ।

थापाले नेपाली कांग्रेसलाई आम नेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित सम्झौता गर्ने छैन, सत्ताका लागि अप्राकृतिक गठबन्धनको अन्त्य हुनेछ। संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछौं।”

उनले प्रेस विज्ञप्ति मार्फत शहिद र अग्रजप्रति श्रद्धान्जली अर्पण गर्दै समस्त नवयुवा र आम नेपालीलाई समुन्नत नेपाल निर्माणको यात्रामा सहभागी हुन पुनः हार्दिक अपील गरेका हुन् । 

May be an image of text

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार