काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादबारे निर्वाचन आयोगमा भइरहेको छलफल सकिएको छ । कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापापक्षले पार्टीका विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो भने शेरबहादुर देउवापक्षले उक्त निवेदनको विपक्षमा निवेदन दर्ता गराएको छ ।
उक्त विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर तथा आयोगका सचिवले कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीहरूसँग छलफल गरेका थिए ।
छलफल सकिएसँगै अब निर्वाचन आयोगको औपचारिक निर्णयको प्रतीक्षा भइरहेको छ । निर्णय आउन ढिलाइ भइरहेका बेला कांग्रेसका दुवै पक्षका नेता तथा कार्यकर्ताहरू निर्वाचन आयोगको कार्यालयअगाडि सडक अवरुद्ध गरेर बसेका छन् । यसका कारण सो क्षेत्रमा सवारी आवागमन प्रभावित भई जामको अवस्था सिर्जना भएको छ ।
आयोगको निर्णयले कांग्रेसको जारी विवादमा निर्णायक मोड आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया