गायत्री मन्दिरमा एक वर्षमै दुई लाखभन्दा बढी भक्तजनद्वारा दर्शन

आइतबार, ०४ माघ २०८२
गायत्री माताको मन्दिर बिर्तामोड

झापा : पूर्बी नेपालको बिर्तामोडमा रहेको गायत्री माताको मन्दिरमा एक वर्षमै दुई लाख बढी भक्तजनहरुले दर्शन गरेका छन् ।  बिर्तामोड नगरपालिका वडा नम्बर ५ अग्रसेन भवन नजिक अवस्थित गायत्री मन्दिर सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेको जनाइएको हो । 

पूर्वी नेपालको झापामा रहेको अर्जुनधारा जलेश्वर धामपछि झापामा रहेको गायत्री माताको मन्दिरमा यस वर्ष सबै भन्दा धेरै श्रद्धालु भक्तजनहरु पुर्जाअर्चनाका साथै दर्शन गर्न आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा दैनिक पूजापाठ तथा नियमित धार्मिक अनुष्ठान सञ्चालन हुँदै आएका छन् । मन्दिरमा उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता हुने गरेको छ । 

पूर्वी नेपालमै पहिलोपटक निर्माण भएको गायत्री माताको मन्दिर बिर्तामोड नगरपालिका वडा नम्बर ५ अग्रसेन भवन नजिक अवस्थित छ । यसअघि पूर्वमा गायत्री माताको मन्दिर नरहेकाले कारण पनि दर्शनार्थीको आकर्षण बढी भएको मन्दिर व्यवस्थापन समितिको वुझाई रहेको छ । 

गत वर्ष जेठ २२ गते गायत्री जयन्तीको अवसरमा मन्दिरले विशेष कार्यक्रम आयोजना गरेको थियो । अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण सम्पन्न भएपछि गायत्री जयन्तीसमेत पहिलोपटक औपचारिक रूपमा मनाइयो । 
२०८० साल जेठ १७ गतेदेखि निर्माण सुरु भएको मन्दिर २०८१ साल माघ २१ गते विधिपूर्वक प्राण प्रतिष्ठा गरी सञ्चालनमा आएको थियो । पाँचदिने विशेष अनुष्ठानसहित गरिएको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए। अनुष्ठानको उद्घाटन तत्कालीन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए भने जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन गरिएको थियो ।

वैदिक सनातन हिन्दू धर्ममा गायत्री मातालाई वेद माता तथा जननीका रूपमा मानिन्छ । माता पार्वती, सरस्वती र लक्ष्मीको अवतारका रूपमा समेत गायत्री मातालाई स्वीकार गरिन्छ । ऋषि विश्वामित्रले तपस्याबाट प्राप्त गरेको गायत्री मन्त्र आज पनि विश्वभर जप गरिँदै आएको धार्मिक विश्वास छ । यही आस्थाका कारण मन्दिरमा दर्शन गर्ने भक्तजनको संख्या निरन्तर बढिरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

मन्दिर निर्माणपछि संरक्षक, व्यवस्थापन समिति र सल्लाहकार समिति गठन गरिएको छ । बिर्तामोड नगरपालिका प्रमुख, उपप्रमुख, वडा नम्बर ५ का वडाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतलाई संरक्षक बनाइएको छ। विवेक अग्रवालको संयोजकत्वमा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ, जसमा सुजित अग्रवाल सहसंयोजक, मनोज बजाज सचिव र राजेश अग्रवाल कोषाध्यक्ष रहेका छन्। त्यस्तै, धार्मिक, सामाजिक, व्यवसायिक तथा सञ्चार क्षेत्रका व्यक्तिहरू सम्मिलित ३१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।

व्यवस्थित पूजा प्रणाली, नियमित अनुष्ठान र बढ्दो श्रद्धालुको सहभागितासँगै गायत्री माताको मन्दिर पूर्वी नेपालकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै आएको स्थानीयवासीको विश्वास छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार