मोरङमा २ बालिकाको हत्याः न अपराधी भेटिए न पहिचान भयो

असोजमा बेपत्ता १३ वर्षीया अंशु गौतम : हत्यारा अझै उम्किँदै

बुधबार, ०३ मंसिर २०८२
File Photo

विराटनगर : मोरङका दुई फरक स्थानमा पछिल्लो तीन महिनाभित्र फेला परेका दुई बालिकाका शवका प्रकरणमा प्रहरीले अहिलेसम्म ठोस प्रगति जनाउन सकेको छैन । दुवै घटनामा हत्या भएको पुष्टि भए पनि प्रहरीको अनुसन्धान न त हत्यारा पुग्ने अवस्थामा पुगेको छ, न त एक घटनामा मृतकको पहिचान नै खुलेको छ ।

प्रहरीको प्रारम्भिक भनाइमै दुवै प्रकरणमा बलात्कारपछि हत्या भएको आशंका छ । तर, शव अत्यधिक कुहिएको अवस्थामा भेटिएकोले मेडिकल रिपोर्टले बलात्कार पुष्टि गर्न नसकेको प्रहरीले जनाएको छ ।

असोजमा बेपत्ता १३ वर्षीया अंशु गौतम : हत्यारा अझै उम्किँदै

लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतम असोज २१ मा घर नजिकै पिङ खेल्न गएकी थिइन् । त्यसपछि उनी बेपत्ता भइन् ।

कार्तिक ७ मा बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको, नग्न अवस्थाको शव फेला परेपछि घटनाले जघन्य रूप लियो ।

चप्पल र कपडाका आधारमा मात्र शवको पहिचान सम्भव भयो ।

चारैतिरको खोजी, प्राविधिक सहयोग र पोलिग्राफ परीक्षणसम्म प्रयोग गरिरहेको प्रहरी अझै घटनाको मूल दोषीसम्म पुग्न नसकेको छ ।

अंशुको मोबाइल नभएकाले अनुसन्धानका महत्वपूर्ण कडी छुटेका छन् ।

परिवारले हत्यारा पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएको छ । शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमै राखिएको छ ।

मोरङ प्रहरी प्रवत्ता डीएसपी कोपिला चुँडाल भन्छिन्,“सबै विधि प्रयोग भइरहेको छ, तर निष्कर्षमा पुगिएको छैन ।”

असारमा भेटिएको अर्को शव : पहिचानै नखुलेपछि अनुसन्धान ‘मुल्तबी’

गत असार २८ मा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ झाडीभित्र १४–१५ वर्षकी एक अज्ञात बालिका नग्न र कुहिएको अवस्थामा भेटिइन् ।

शव यति बिग्रिएको थियो कि आसपास दुर्गन्ध फैलिएको स्थानीयको सूचनामा मात्र प्रहरी पुगेको थियो ।

चार महिनासम्म देशभर खोजी गर्दा पनि पहिचान खुल्न नसकेपछि प्रहरीले मृतक नेपाली नहुन सक्ने निष्कर्ष निकालेको छ ।

भारतीय प्रशासनसम्म हुलिया पठाइए पनि कुनै हराएकी बालिका मेल खाएनन् ।

अहिले प्रहरीले डीएनए नमुना सुरक्षित राखेर शवलाई बेवारिसे घोषणा गर्दै अन्त्येष्टि प्रक्रियाका लागि विराटनगर महानगरलाई पत्र लेखेको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार