जेनजी आन्दोलनपछि प्रहरी आक्रामक, फरार १४ जना प्रतिवादी झापाबाट पक्राउ

बुधबार, ०३ मंसिर २०८२

झापा : विभिन्न आपराधिक, आर्थिक र बैंकिङ मुद्दामा फरार रहेका १४ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ। जेनजी आन्दोलनपछि काममा फर्किएको प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका सबैलाई जिल्ला अदालत झापामा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालयको अदालतको फैसला कार्यान्वयन टोलीले पछिल्ला दिनमा सञ्चालन गरेको खोज तथा पक्राउ अभियानका क्रममा हर्कमान यवा (३८), पाँचथर हिलिहाङ–६ निवासी, सवारी ज्यान मुद्दामा पक्राउ परेका छन्। उनी सात हजार धरौटी तिरेर रिहा भएका छन्।

त्यस्तै, रमजान मियाँ (५१), सुनसरी गढी–१ निवासी, बैंकिङ कसुर मुद्दामा पक्राउ परेका हुन्। उनको जरिवाना एक करोड रुपैयाँ तोकिएको छ। रवैया खातुन (४२), सुनसरी गढी–१ निवासी, पनि बैंकिङ कसुरका फरार अभियुक्त हुन्। उनको पनि जरिवाना एक करोड रुपैयाँ रहेको छ।

एन्जन कुरुम्बाङ (२५), पाँचथर तुम्बेवा–५ निवासी, चोरी मुद्दाका फरार अभियुक्त हुन्। उनलाई १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। शिला उर्फ कुमारी हिमाली, झापा कनकाई–६ निवासी, बहुविवाह मुद्दामा फरार प्रतिवादी हुन्। उनलाई १ वर्ष कैद र ११ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

पक्राउ पर्नेमा दीपक मेन्याङवो, झापा बिर्तामोड–७ निवासी, वन पैदावार मुद्दाका फरार अभियुक्त हुन्। उनलाई १ महिना कैद र ४६ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

दीपक टुडु, झापा गापा–६ निवासी, लागू औषध मुद्दाका फरार अभियुक्त हुन्। उनको सजाय ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना रहेको छ। रिहान आलम (१८), झापा गाउँपालिका–७ निवासी, पनि लागू औषध मुद्दाका फरार अभियुक्त हुन्। उनलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

बुद्धिमान तामाङ (४१), मेचीनगर–२ निवासी, बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन्। उनको सजाय १ दिन कैद र ३ लाख १८ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

रामु खड्का (२५), गौरीगञ्ज–४ झापा निवासी, चोरी मुद्दाका फरार अभियुक्त हुन्। उनलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ। अजय राजवंशी (२६), मेचीनगर–१४ निवासी, विदेशी विनिमय मुद्दाका फरार प्रतिवादी हुन्। उनलाई ८ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

कानुबहादुर शर्मा (३२), बुद्धशान्ति–४ निवासी, ठगी मुद्दाका फरार प्रतिवादी हुन्। उनलाई १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय २७ रुपैयाँ जरिवाना तोकिएको छ।

मनिष चौधरी (२२), शिवसताक्षी–१ निवासी, लागू औषध मुद्दाका फरार अभियुक्त हुन्। उनको सजाय १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय २७ रुपैयाँ जरिवाना तोकिएको छ।

सबुत हायु (२२), सिन्धुली कमलामाई–७ निवासी, पनि लागू औषध मुद्दाका फरार प्रतिवादी हुन्। उनको सजाय ६ महिना कैद र १२ लाख २१ हजार ४ सय २७ रुपैयाँ जरिवाना तोकिएको छ।

प्रहरीका अनुसार फरार प्रतिवादीहरूको खोज, नियन्त्रण र फैसला कार्यान्वयन अभियानलाई अझ सुदृढ बनाइनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार