ताप्लेजुङ : मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा मङ्गलवार मध्यराति आगलागी हुँदा चार घर पूर्णरुपमा जलेर नष्ट भएका छन्।
गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार राति करिब ११ बजेतिर आगलागी सुरु भएको हो। आगलागीबाट इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूका घर जलेर खरानी भएका छन्।
घटनास्थलमा रहेका होटेल र पसलसहितका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगदसमेत जलेर नष्ट भएका छन्। फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार मध्यराति भएको आगलागीका कारण घरभित्रको कुनैपनि सामग्री बचाउन सकिएको थिएन।
स्थानीयका अनुसार आगलागी कसरी सुरु भयो भन्ने प्रारम्भिक जानकारी प्राप्त नभएको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।
घटनास्थलमा प्रहरी तथा स्थानीय बासिन्दाहरूले आगो नियन्त्रण तथा उद्धार कार्य जारी राखेका छन्। आगलागीको कारणसमेत खुल्न बाँकी रहेको र थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया