काठमाडौं : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आइतबार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गर्दै आयोगको वेबसाइटमा राखेको हो।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम बन्दसूची प्रकाशन गरिएको हो। सार्वजनिक विवरणअनुसार ५७ वटा निर्वाचन चिह्न प्रयोग गर्दै ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बन्दसूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारको योग्यतासम्बन्धी दाबी वा विरोध गर्न चाहने मतदाताले उजुरी दिन सक्नेछन्।
उनले माघ ५ देखि माघ १० गतेसम्म, बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन आयोगअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उजुरी दिन सकिने जानकारी दिए।
प्रतिक्रिया