विराटनगरका दुई स्थानबाट ठूलो मात्रामा खैरो हेरोइन बरामद, चार जना पक्राउ

बुधबार, ०३ मंसिर २०८२

विराटनगर । विराटनगरका दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ । खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । 

मंगलबार साँझ ५ बजे विराटनगर महानगरपालिका–१३ स्थित सडकछेउमा रोकेर राखिएको को १४ प ४५८७ नम्बरको मोटरसाइकलमा बसेर कुराकानी गरिरहेका २ युवालाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले शंकास्पद देखेर चेकजाँच गरेको थियो । साथबाट लागुऔषध फेला परेपछि विराटनगर–८ का २८ वर्षीय अजयकुमार मुखिया र विराटनगर–१६ का अजयकुमार राउतलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । 

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट सई प्रकाशचन्द्र अधिकारी नेतृत्वको टोलीले गरेको चेकजाँचका क्रममा अजयकुमार मुखियाको साथबाट प्लास्टिकमा पोको पारेर राखिएको १४० ग्राम १८ मिलिग्राम खैरो हेरोइन फेला परेको जानकारी उनले दिइन् । दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मंगलबार राति करिब ८स्४५ बजे विराटनगर–११ स्थित बसपार्क क्षेत्रबाट दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् । भारत, बिहारको फारबिसगन्ज कोहलियाका २८ वर्षीय मोहमद मोजाहित र फारबिसगन्ज पलासीका २० वर्षीय राजकुमार दासलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरका सई प्रकाशचन्द्र अधिकारी र वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर अप्रिल चापागाईं नेतृत्वको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये मोजाहितले लगाएको जम्परभित्र प्लास्टिकको पोकोमा लुकाइराखिएको १५२ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी चुँडालले जानकारी दिइन् । प्रहरीले दुवै भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार