सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता जारी

मंगलबार, ०६ माघ २०८२

धरान । सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा आज उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ। उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित बनाउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा सहभागी दल तथा उम्मेदवारलाई फरक–फरक समयमा मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश राउतले बताए। उनका अनुसार मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म हुनेछ।

हालसम्म सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा पाँच जनाले उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन्। प्रमुख निर्वाचन अधिकृत राउतका अनुसार स्वतन्त्र, श्रम संस्कृति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले) का उम्मेदवारबाट मनोनयन दर्ता भएको हो।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र मंगोल पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन क्षेत्र नम्बर ३ बाट समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार गरी पाँच जनाको मनोनयन दर्ता भइसकेको छ। निर्वाचन क्षेत्र नम्बर ४ बाट हालसम्म एक जनाको मनोनयन दर्ता भएको जनाइएको छ।

निर्वाचन क्षेत्र नम्बर १ को मनोनयन दर्ता स्थल धरान–८ स्थित सभागृह तोकिएको छ। क्षेत्र नम्बर २ र ४ का लागि इनरुवा स्थित शिक्षा तालिम केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिएको छ भने क्षेत्र नम्बर ३ का लागि दुहबी स्थित पशु सेवा तालिम केन्द्रमा निर्वाचन कार्यालय सञ्चालनमा रहेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन मुख्य अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन्। जिल्लाभर कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम रहेका छन्। ती मतदाताका लागि १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार