झापा–३ मा लिङ्देनको पुनरागमन प्रयास, उम्मेदवारी दर्तासँगै चुनावी माहोल तात्यो

मंगलबार, ०६ माघ २०८२

झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएसँगै यो क्षेत्र पुनः उच्च प्रोफाइलको प्रतिस्पर्धातर्फ उन्मुख भएको छ ।


झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् । भद्रपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेल समक्ष मनोनयन पत्र दर्ता गराएका हुन् ।


उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लिङ्देनले झापा–३ का जनताको विश्वास र समर्थनकै आधारमा आफू पुनः मैदानमा उत्रिएको बताए । उनले सुशासन, राष्ट्रिय स्वाभिमान र जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाइने उल्लेख गरे ।


लिङ्देन झापा–३ बाट यसअघि पनि निर्वाचित भइसकेका नेता हुन् । उनी हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका रूपमा सक्रिय रहँदै आएका छन् । उनको उम्मेदवारीसँगै झापा–३ मा राप्रपाले फेरि बलियो दाबी प्रस्तुत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।


स्थानीय स्तरमा लिङ्देनको सङ्गठनात्मक पकड र राष्ट्रिय राजनीतिमा उनको भूमिकाका कारण यो क्षेत्रलाई प्रतिस्पर्धी निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ । अन्य प्रमुख दलका उम्मेदवारहरू पनि मैदानमा उत्रिसकेकाले झापा–३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ ।


मनोनयन दर्ता कार्यक्रमका क्रममा राप्रपाका नेता–कार्यकर्ता तथा समर्थकको उल्लेख्य उपस्थिति देखिएको थियो । उनीहरूले लिङ्देनको पक्षमा नाराबाजी गर्दै चुनावी अभियानको सुरुवात गरेका छन् ।


मनोनयन दर्ता प्रक्रिया पूरा भएसँगै अब झापा–३ मा औपचारिक रूपमा चुनावी प्रचारप्रसारले गति लिने अपेक्षा गरिएको छ ।


अध्यक्ष लिङ्देनले यस अघि दुई पटक नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।


नेकपा एमालेसँगको समीकरणका कारण नेपाली काँग्रेसका नेता सिटौलालाई सहजै पराजित गरेका लिङ्देन यो पटक एक्लै चुनावी मैदानमा छन् ।


नेपाली काँग्रेसले राजेन्द्र घिमिरेलाई यो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उतारेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापति प्रकाश पाठकलाई चुनावी मैदानमा उतारेको छ ।


यता नेकपा एमालेका तर्फबाट संविधान सभा सदस्य हरि बहादुर राजवंशीले प्रतिस्पर्धा गर्दैछन् । जसका कारण पनि यो निर्वाचन क्षेत्रमा चुनावी माहौल थप रोचक बन्ने देखिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार