काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सम्पन्न भएकोमा प्रधानमन्त्री सुशीला कार्कीले खुशी व्यक्त गरेकी छन्। उनले यस घटनालाई नेपालको लोकतान्त्रिक इतिहासमा अर्को महत्त्वपूर्ण कोशेढुङ्गा भएको रूपमा चित्रण गरेकी छन्।
प्रधानमन्त्री कार्कीले निर्धारित समयभित्र मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति हार्दिक आभार व्यक्त गर्दै प्रतिनिधि सभाका १६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएको उत्साहले नेपाली जनताले लोकतान्त्रिक प्रणालीप्रति गहिरो विश्वास राखेको प्रमाणित भएको बताइन्।
उनले यो राष्ट्रिय उत्साहले नेपाली जनता लोकतन्त्रलाई सुदृढ बनाउन सचेत र सक्षम रहेको पुनः प्रमाणित गरेको उल्लेख गर्दै निर्वाचनको सुरक्षा व्यवस्थामा सरकारले कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरिन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउने पूर्ण तयारी सरकारले गरेको पनि जानकारी दिइन्।
सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब मुलुक विकास र स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरिन्।
प्रतिक्रिया