मकवानपुरमा उम्मेदवारी दर्ता उल्लासपूर्ण, ४४ जना चुनावी प्रतिस्पर्धामा

मंगलबार, ०६ माघ २०८२

हेटौँडा : मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ।

निर्वाचन आयोगले तोकेको समयअनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू दलबलसहित हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन्।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, जसमा १३ जना विभिन्न राजनीतिक दलका र १० जना स्वतन्त्र छन्। यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ मा २१ जना उम्मेदवार रहेका छन्, जसमा १६ जना दलीय र ५ जना स्वतन्त्र गरी दुवै क्षेत्रमा कुल ४४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

नेपाली कांग्रेसबाट क्षेत्र–१ मा महालक्ष्मी उपाध्याय ‘डीना’ र क्षेत्र–२ मा बुद्ध लामाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि मङ्गलवार दुवै उम्मेदवार हेटौँडास्थित निर्वाचन कार्यालय पुगेका थिए। क्षेत्र–२ का उम्मेदवार लामा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति हुन् भने क्षेत्र–१ की उम्मेदवार उपाध्याय कांग्रेसकी पूर्व सहमहामन्त्री हुन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह मकवानपुर–१ बाट निर्वाचित भएका थिए। सिंहले २७ हजार ८ सय १४ मत प्राप्त गरी २ हजार ३ सय ९३ मतान्तरले जीत हासिल गरेका थिए।

उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनकी तर्फबाट कांग्रेसकी सहमहामन्त्री डीनाले २५ हजार ४ सय ३४ मत पाएकी थिइन्।

पार्टी सङ्गठन सुदृढीकरण, महिला अधिकार र समावेशी लोकतन्त्रका विषयमा निरन्तर आवाज उठाउँदै आएकी डीनालाई कांग्रेसले पुनः विश्वास गर्दै उम्मेदवार बनाएको हो। स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक अनुभव भएका बुद्ध लामा पनि पार्टीभित्र प्रभावशाली नेता मानिन्छन्।

२०७९ को निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्न लिएर उम्मेदवारी दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४ सय २० मतसहित तेस्रो स्थानमा सीमित भएका थिए। यसपटक भने थापा मकवानपुर छाडेर काठमाडौँ–५ बाट उम्मेदवार बनेका छन्।

करिब ३५ वर्षपछि थापा पहिलोपटक गृहजिल्ला मकवानपुरबाट चुनावी प्रतिस्पर्धामा नउत्रिएका हुन्। २०५१ सालको मध्यावधि निर्वाचन जितेपछि लगातार पराजय व्यहोर्दै आएका थापाले यसपटक गृहजिल्ला त्यागेका छन्।

केन्द्रमा नयाँ सत्तासमीकरण बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा दीपकबहादुर सिंह सरकारबाट बाहिरिएका थिए। सिंह यसअघि नेकपा माओवादी केन्द्र नेतृत्वको सङ्घीय सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री थिए।

२०७९ को स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिका मेयरमा झिनो मतान्तरले पराजित भएपछि सिंहको राजनीतिक चर्चा थप बढेको थियो। ६७ वर्षीय सिंह यसअघि पनि विभिन्न निर्वाचनमा पराजय व्यहोर्दै आएका थिए।WhatsApp Image 2026-01-20 at 21.01.55 (1)

मकवानपुर–१ बाट नेकपा एमालेका रामेश्वर रानाले उम्मेदवारी दर्ता गराएका छन्। उनका प्रस्तावक गोपालप्रसाद दाहाल र समर्थक इन्द्रमान स्यांतान छन्। मकवानपुर–२ बाट एमालेका पूर्व सांसद महेश बर्तौलाले उम्मेदवारी दिएका छन्, जसका प्रस्तावक राजाराम स्यांतान र समर्थक सुवासचन्द्र ठकुरी रहेका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टले मनोनयन दर्ता गरेका छन्। पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका गौतम विद्यार्थी राजनीति र आन्दोलनबाट उदाएका नेता हुन्।

उनी यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वकीय सचिवसमेत रहिसकेका थिए। मकवानपुर–२ का उम्मेदवार विष्ट रूपचन्द्र विष्ट ‘रुदाने’ का अनुयायीका रूपमा चिनिन्छन्। उनी २०७४ सालमा थाहा नगरपालिका मेयर निर्वाचित भई विकास र सेवाप्रवाहका कामका कारण चर्चामा आएका थिए।

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर–१ मा प्रकाश गौतम र मकवानपुर–२ मा प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट क्षेत्र–१ मा तेजप्रसाद उप्रेती (रमेश) र क्षेत्र–२ मा सन्तोष विष्ट चुनावी मैदानमा उत्रिएका छन्।

श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा पार्टीको केन्द्रीय सदस्य पद त्यागेकी विद्या श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छन्। हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सक्रिय रहँदै आएकी श्रेष्ठको उम्मेदवारीले चर्चा पाएको छ। मकवानपुर–२ बाट युनिश लामाले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता सम्पन्न भएसँगै मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहौल तातेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार