काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा समन्वय र सहजीकरण गर्न १७ नेतालाई जिम्मेवारी दिएको छ।
पार्टीका केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलका अनुसार यी नेताहरूले जिल्ला, जनसङ्गठन, विभाग, सम्र्पक समन्वय र प्रवास क्षेत्रहरूमा प्रतिनिधि छनोटका क्रममा देखिने समस्याको समाधान गर्नेछन्। समन्वयकर्ता भएका नेताहरूमा भानुभक्त ढकाल, शेरधन राई, विशाल भट्टराई, सुमनराज प्याकुरेल, ज्वाला साह, आनन्द पोखरेल, गणेश पहाडी, सुजिता शाक्य, सम्झना देवकोटा, गोविन्द नेपाली, लीला गिरी, जीवन गौतम छन्।
लक्ष्मी पोखरेल, लालबहादुर थापा, लीला भण्डारी, माधव ढुङ्गेल र काशीनाथ अधिकारीलाई पनि प्रतिनिधि छनोटमा देखा पर्ने समस्या समाधान गर्न जिम्मेवारी दिइएको छ। महाधिवेशनका लागि प्रतिनिधि बन्ने सदस्यहरूले आगामी चैतसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्नेछ। हाल करिब ६ लाख ६७ हजार सदस्यता रहेको छ।
पार्टीले भूगोल, दलित र मजदुर क्षेत्रका निर्वाचन क्षेत्रको सूची मङ्सिर ७ भित्र यकिन गर्न र ४० वर्ष मुनिका युवा प्रतिनिधि बन्ने मापदण्ड तोकेको छ। आगामी मङ्सिर १३ गते एकै दिन प्रतिनिधि छनोट हुने र महाधिवेशन मङ्सिर २७–२९ गते काठमाडौंमा आयोजना हुने जानकारी पनि दिइएको छ।
प्रतिक्रिया