काठमाडौं : नेपाल वायुसेवा निगमका नयाँ महाप्रबन्धक अमृतमान श्रेष्ठले बिहीबार औपचारिक रूपमा पदबहाली ग्रहण गर्दै कामकाज सुरु गरेका छन्। २ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी सञ्चालक तथा महाप्रबन्धकको जिम्मेवारी दिएको थियो।
पदभार ग्रहणसँगै श्रेष्ठले निगमको कार्यकारी समितिको बैठक बोलाएर विभागीय प्रमुखहरूसँग समग्र अवस्थाबारे जानकारी लिएको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिए।
श्रेष्ठले कर्मचारीहरूलाई निगमको हितलाई सर्वोच्च प्राथमिकता दिई काम गर्न निर्देशन दिएका छन्। उनले डेढ वर्षदेखि इजरायलको आईएआई कम्पनीमा मर्मतबाट फर्कन बाँकी रहेको एयरबसको इन्जिन जहाजमा जडान गरी हाल लिजमा प्रयोग भइरहेको इन्जिन फिर्ता ल्याउने कामलाई तत्काल टुंग्याउने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार उक्त प्रक्रियाको सुरुआत भइसकेको छ र कर्मचारीलाई सोहीअनुसार जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिइएको छ।
नेपाल वायुसेवा निगम र इजरायली कम्पनी आईएआईबीच इन्जिनको लिज, मर्मत र क्षतिपूर्ति सम्बन्धी भुक्तानी विषयमा विवाद रहेको छ। यही कारण वर्षौँदेखि इन्जिन मर्मत प्रक्रियामा ढिलाइ हुँदै आएको निगमको भनाइ छ।
प्रतिक्रिया