रंगेली । मोरङको रंगेलीमा इलाका प्रशासन कार्यालय र वडा कार्यालय जलाएको घटनामा प्रत्यक्ष संलग्न रहेका विवादास्पद व्यक्तिले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन् ।
जेनजी आन्दोलनको आवरणमा प्रशासन र रंगेली नगरपालिका–६ को वडा कार्यालय जलाउने घटनाको नेतृत्वकर्तामध्येका अन्दाजी ३३ वर्षीय मोहमद सिराजउद्धिनले सक्रिय पत्रकार विशालकुमार मण्डलमाथि आक्रमण गरेका हुन् । नियमित ‘रिपोर्टिङ’ सकेर घर फर्किने क्रममा मंगलबार साँझ पत्रकार मण्डलमाथि बाटो छेकेर गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ ।
मोरङ क्षेत्र नम्बर २ अन्तर्गत सिजुवास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्तासम्बन्धी गतिविधिको रिपोर्टिङ गरेर फर्किँदै गरेका बेला रंगेली बजार क्षेत्रमा रोक्दै सिराजउद्धिनले अपशब्द प्रयोग गर्दै अचानक आक्रमण गरेको पत्रकार मण्डलको भनाइ छ । प्रत्यक्षदर्शीहरूका अनुसार मदिराको नशामा लठ्ठ रहेका सिराजुद्धिनले पत्रकारमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट पत्रकार मण्डलको शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रेस चौतारी मोरङको कार्यसमिति सदस्यसमेत रहेका मण्डल पूर्वी टाइम्स दैनिकमा कार्यरत पत्रकार हुन् ।
प्रेस चौतारी मोरङलगायतका सञ्चार सम्बद्ध विभिन्न संघ संस्थाले विज्ञप्ति जारी गरेर घटनाको विरोध गर्दै दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन् । प्रेस चौतारी मोरङका सचिव नवराज भट्टराईद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर भएर पत्रकारको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ ।
घटना अत्यन्तै गम्भीर र निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ । घटनापछि पत्रकार मण्डलले पनि दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । उनले समाचार संकलन र सम्प्रेषणकै क्रममा आफूमाथि आक्रमण भएको बताए ।
घटनामा संलग्न सिराजउद्धिनलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
सिराजउद्धिनविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउने प्रहरीको तयारी छ । स्थानीयका अनुसार सिराजउद्धिन विगतदेखि नै विभिन्न विवादमा पर्दै आएका थिए । प्रहरीका अनुसार सिराजउद्धिन जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते इलाका प्रशासन कार्यालय र रंगेली–६ को वडा कार्यालयमा आगजनी गरिएको घटनामा संलग्नमध्येका १ जना हुन् ।
उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो । तर, फरार भएकाले प्रहरीले पक्राउ गर्न सकेको थिएन । आगजनी घटनाका अभियुक्त सिराजउद्धिनले अहिले पत्रकार मण्डलमाथि आक्रमण गरेका हुन् ।
सरकारी कार्यालयमा आगजनी गरिएको गम्भीर अभियोग लागेपछि भागेका सिराजउद्धिन अहिले पत्रकार कुटपिट प्रकरणमा पक्राउ परेका छन् । उनलाई कारबाही नगर्न र छाड्नका लागि नेपाली कांग्रेसका केही नेता कार्यकर्ताले प्रहरीलाई दबाब दिएको स्रोतको भनाइ छ । तर, प्रहरीले कानुनी कारबाही अघि बढाएको छ ।
यसले गम्भीर आपराधिक घटनामा राजनीतिक संरक्षणको प्रयास गरिँदा निर्वाचनका बेला नेपाली कांग्रेसको आलोचना भएको छ । प्रशासन र वडा कार्यालयजस्ता सार्वजनिक निकाय जलाउने अभियोग लागेका व्यक्तिले पत्रकारमाथि आक्रमण गर्नु व्यक्तिगत घटना नभएर कानुनी शासन र प्रेस स्वतन्त्रतामाथिको चुनौती भएको प्रेस चौतारी मोरङ अध्यक्ष चिना थापाले बताइन् ।
उनले दोषीलाई राजनीतिक दबाबमा उन्मुक्ति दिन नमिल्ने बताइन् । यस्ता अपराधिक घटनाले मुलुकमा सञ्चारकर्मीको व्यक्तिगत र पेसागत सुरक्षाका बारेमा गम्भीर प्रश्न उठाएको थापाको भनाइ छ ।

प्रतिक्रिया