इटहरी । झापा–५ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले स्थानीय युवामाझ प्रभाव बढाउँदै लगेका छन्। यही क्रममा नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले एमाले परित्याग गर्दै बालेन शाहको चुनावी अभियानमा साथ दिने घोषणा गरेका छन्।
खतिवडाले सामाजिक सञ्जालमा बालेनसँगको तस्बिर सार्वजनिक गर्दै २०८२ माघ ७ गतेदेखि राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गरेको उल्लेख गरेका छन्। उनले परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने र बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको बताएका छन्।
साथै, आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र र परिवारजनप्रति धन्यवाद व्यक्त गर्दै अग्रगामी परिवर्तन र सामाजिक जीवनमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि पनि नेपाली कांग्रेस दमकका सभापति प्रकाश प्रसाई पार्टी छाडेर बालेन शाहको पक्षमा लागेको सार्वजनिक भइसकेको छ। स्थानीय तहमा विभिन्न दलका नेता–कार्यकर्ता बालेनतर्फ आकर्षित हुन थालेपछि झापा–५ मा चुनावी प्रतिस्पर्धा थप चर्किने देखिएको छ।

प्रतिक्रिया