उम्मेदवार मनोनयन आजदेखि : मनोनयनका लागि यी कागजात अनिवार्य

मंगलबार, ०६ माघ २०८२

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्तामा प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहने निर्वाचन आयोगले जनाएको छ।

आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक हुनेछ।

उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा, साथै ती सरकारहरूको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि पेस गर्नुपर्नेछ। सम्बन्धित अनुसूचीबमोजिम प्रतिनिधि मुकरर गरेको फारामसमेत आवश्यक पर्नेछ।

प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण भरी सहिछाप गरिएको मनोनयनपत्र पेस गर्नुपर्नेछ।

दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार प्राप्त सो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिका पदाधिकारीले जारी गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनको औपचारिक पत्र अनिवार्य हुनेछ।

यस्तै, एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि पेस गर्नुपर्नेछ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर आवश्यक पर्नेछ। महिला, दलित, अल्पसङ्ख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि अनिवार्य हुनेछ। उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र पनि पेस गर्नुपर्नेछ।

यस्तै, उम्मेदवारले आफ्नो चल तथा अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र (सेयर), ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्नेछ। वैयक्तिक विवरण फाराम पनि भरिनुपर्नेछ।

 

उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको कुनै निकायबाट लिएको पेस्की फर्छ्योट भएको निस्सा पनि पेस गर्नुपर्नेछ। साथै, लेखा परीक्षणबाट कुनै उम्मेदवारका नाममा किटानीसाथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए त्यसको फर्छ्योट भएको निस्सा अनिवार्य रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार