काठमाडौँ : निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधता दिएसँगै ६ माघमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तालिकाबारे अन्योल सिर्जना भएको छ।
काङ्ग्रेसभित्रको आन्तरिक कलहका कारण २१ फागुनमा हुने निर्वाचन प्रभावित नहुने सरकार बारम्बार दोहोर्याइरहे पनि निर्वाचन कार्यतालिका हेरफेर गर्ने अधिकार भने निर्वाचन आयोगसँगै रहेको बताइएको छ।
निर्वाचन आयोगका अधिकारीहरूले औपचारिक रूपमा ६ माघको प्रत्यक्षतर्फको मनोनयन नसर्ने बताएका छन्। तर काँग्रेसको आन्तरिक विवाद व्यवस्थापन र देउवा पक्षले अदालत जाने निर्णय गरेकाले ६ माघको कार्यतालिका प्रभावित हुन सक्ने सम्भावना रहेको आयोगकै केही आयुक्तहरू स्विकार्छन्। काँग्रेसको वैधता सम्बन्धी निर्णयमा अल्पमतमा परेका आयुक्तहरू देउवा पक्ष अदालत गएमा अदालतको अन्तरिम आदेश नआएसम्म उम्मेदवारी दर्ता प्रक्रिया रोक्नुपर्ने पक्षमा छन्।
तर बहुमत आयुक्तहरू भने काँग्रेस फुटेको नभई विशेष महाधिवेशन वैध हो कि होइन भन्ने विषयमा मात्र आयोगले निर्णय दिएको दाबी गर्छन्। पार्टी महाधिवेशनमार्फत फुटेर आएको नदेखिएकाले असन्तुष्ट पक्षका दाबी सुनिरहनु नपर्ने उनीहरूको तर्क छ। यही आधारमा बहुमत आयुक्तहरू ६ माघमै मनोनयन प्रक्रिया अघि बढ्नुपर्ने अडानमा छन्।
आयोग कार्यतालिका संशोधन गर्ने वा नगर्ने भन्ने अन्योल कायमै रहँदा राजनीतिक दलहरू भने उम्मेदवार छनोटमा व्यस्त देखिएका छन्। दलहरू एक–अर्काबाट उम्मेदवार तान्ने, प्रभावशाली व्यक्तिलाई पार्टीभित्र भित्र्याउने प्रयासमा जुटेका छन्। नेकपा (एमाले) सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याइसकेको छ भने नेपाल कम्युनिस्ट पार्टीले पनि देशभरका अधिकांश क्षेत्रमा उम्मेदवार तय गरेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा जुटेको छ। मधेस केन्द्रितदेखि साना दलसम्मले उम्मेदवार तय गरिसकेको दाबी गरे पनि शीर्ष नेताहरू प्रतिस्पर्धा गर्ने महत्त्वपूर्ण क्षेत्रका उम्मेदवार भने अधिकांश दलले गोप्य राखेका छन्।
नेपाली काँग्रेसले संसदीय बोर्डमार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाएसँगै शनिवार अपराह्नसम्म शेरबहादुर देउवा पक्षमा रहेका शेखर कोइराला पक्षधर नेतासहित अधिकांश पूर्व केन्द्रीय समितिका सदस्यहरू गगनकुमार थापा नेतृत्वको काँग्रेसमा फर्किएका छन्। काँग्रेसले असन्तुष्ट पक्षसहित सबै समूहका नेतालाई समेटेर उम्मेदवार चयन गर्ने बताउँदै ५ माघभित्र अन्तिम टुङ्गो लगाउने जनाएको छ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा होमिने भएका छन्। दुवै मन्त्री ५ माघअघि नै राजीनामा दिएर प्रचारमा लाग्ने तयारीमा रहे पनि काँग्रेस विवादका कारण ६ माघको कार्यतालिका हेरफेर हुन सक्ने आशङ्काले हाललाई प्रक्रिया रोकेको बुझिएको छ।
मन्त्री खरेल र गुप्ता दुवै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन्। खरेल ललितपुर–२ वा ३ तथा गुप्ता सिराहा–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको स्रोतको दाबी छ।
शनिवार मन्त्री खरेलले मन्त्रालयमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका केही व्यक्तिसँग आफू राजीनामा दिन लागेकाले कार्यक्रममा सहभागी हुन नसक्ने भन्दै निम्तोपत्र अस्वीकारसमेत गरेका छन्। उनको सचिवालयले मन्त्री चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहे पनि निर्वाचन क्षेत्र भने अन्तिम रूपले तय भइनसकेको जनाएको छ। गुप्ताका निकट सहयोगीहरूले पनि उनी राजीनामा दिएरै चुनावमा होमिने तयारीमा रहेको बताएका छन्।
प्रतिक्रिया