‘फेलियर’ हुँदै स्वास्थ्य बिमा कार्यक्रम

आइतबार, ०४ माघ २०८२
file pic

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमाबाट दिइने सेवा माघ १ गतेदेखि बन्द गरेको छ। स्वास्थ्य बिमा बोर्डले उपचार खर्चबापतको रकम ४० करोड रुपैयाँ लामो समयदेखि भुक्तानी नदिएको कारण अस्पतालले यस्तो निर्णय गरेको हो।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले भने, “उपचार खर्चबापतको रकम नपाएपछि हामीले माघ १ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गतका सबै सेवा बन्द गर्ने निर्णय बोर्डलाई जानकारी गराइसकेका थियौं। भुक्तानी नपाएपछि बिरामीको उपचार कसरी गर्ने? सेवा बन्द गर्नुको विकल्प छैन।”

अस्पतालले भनेको छ कि सरकारले स्वास्थ्य बिमाको रकम उपलब्ध गराउन नसक्दा दैनिक पाँच सयभन्दा बढी बिरामी बिमा सेवाबाट वञ्चित हुनुपरेको छ। शिक्षण अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बिमा सेवा प्रदान गर्दै आएको थियो।

देशकै प्रमुख सरकारी अस्पतालमध्ये शिक्षण अस्पतालले बिमा सेवा बन्द गर्नुपर्ने स्थिति आउनुले गम्भीरता बढाएको छ। स्वास्थ्य बिमा बोर्डले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ।

त्यस्तै, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पनि स्वास्थ्य बिमा सेवा बन्द गर्ने तयारीमा छ। केन्द्रका सूचना अधिकारी सुदीपचन्द्र दाहालका अनुसार, “भुक्तानी नपाएर सेवा बन्द गर्नुपर्छ भन्ने पत्र हामीले बोर्डमा पठाइसकेका छौं।

स्वास्थ्य मन्त्रालयले ऐन परिमार्जन गरेर छिट्टै भुक्तानी दिने आश्वासन दिएको छ, तर आश्वासनले मात्रै सेवा चल्दैन।” केन्द्रले ३४ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएको छ।

स्वास्थ्य बिमा बोर्डमाथि पनि प्रश्न उठेको छ। बोर्डले देशभरका अस्पताललाई झण्डै १३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लका अनुसार, “सरकारबाट आउने अनुदान न्यून भएको र बजेट खर्च भइसकेको कारण अस्पतालमा समस्या देखिएको हो।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, “अस्पतालले एकपटकको सूचना भरमा सेवा बन्द गर्नु सही होइन। समस्या भए बिमा बोर्डसँग समन्वय र छलफल गर्नुपर्छ। सेवा प्रदायकबीच समाधान खोज्ने प्रक्रिया जारी छ। स्वास्थ्य बिमा ऐन परिमार्जनका लागि क्याबिनेटमा प्रस्ताव पेश गर्न लागिएको छ।”

देशभर ५१० वटा अस्पताल बिमा बोर्डसँग आबद्ध छन्। यसमार्फत करिब १ करोड नागरिकले स्वास्थ्य बिमाको सेवा लिन्छन्। दैनिक ५० हजारले बिमामार्फत सेवा लिने गरेका छन्। बोर्डका अनुसार, एक महिनामा साढे दुई अर्ब रुपैयाँ बराबरको सेवा दिइन्छ।

स्वास्थ्य बिमा कार्यक्रम २०७२ सालमा गठन भएको स्वास्थ्य बिमा बोर्डले ७७ वटै जिल्लामा लागू गरेको हो। बिमा अन्तर्गत, पाँच जनासम्मको परिवारले ३ हजार ५ सय रुपैयाँ बुझाएपछि प्रत्येक सदस्यले १ लाख रुपैयाँसम्म निःशुल्क उपचार प्राप्त गर्न सक्छ। पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य ७ सय रुपैयाँको दरले अतिरिक्त बिमा रकम तिर्नुपर्नेछ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार