रेसुङ्गा । गुल्मी जिल्लामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी अपुग देखिएको छ । म्याद थपेर आवेदन आह्वान गर्दा पनि ३०१ जना निर्वाचन प्रहरीको कमी भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिलो चरणको भर्ना अवधिभित्र एक हजार २५९ जनाको आवेदन परेको थियो। माग अनुसार आवेदन नपुगेपछि दुई दिनका लागि भर्ना अवधि थप गरिएको हो। गुल्मीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत कुल एक हजार ८७४ जना निर्वाचन प्रहरी भर्ना आह्वान गरिएको छ ।
नेपाल प्रहरीतर्फ एक हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म एक हजार १२२ पुरुष र २९६ महिला गरी कुल एक हजार ४१८ जनाले आवेदन दिएका छन्। यसअनुसार नेपाल प्रहरीतर्फ मात्रै २७७ जना अपुग देखिएको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बलतर्फ १७९ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा १३८ पुरुष र १७ महिला गरी १५५ जनाले आवेदन दिएका छन्। सशस्त्र प्रहरीतर्फ २४ जना अझै अपुग रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
निर्वाचन प्रहरीमा महिलाको सहभागिता निकै कम देखिएको छ। नेपाल प्रहरीतर्फ महिला निर्वाचन प्रहरीका लागि ६७६ जनाको माग रहे पनि हालसम्म २९६ जनाले मात्र आवेदन दिएका छन्।
२०७९ सालको निर्वाचनमा गुल्मीमा पुरुष एक हजार १३२ र महिला ३२८ गरी कुल एक हजार ४६० जना म्यादी प्रहरी भर्ना गरिएको थियो। यसपटक अघिल्लो निर्वाचनको तुलनामा ४१४ जना बढी निर्वाचन प्रहरी माग गरिएको छ ।
गुल्मी जिल्लामा हाल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन्। जिल्लामा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ। हालै थप गरिएका तीन मतदान स्थलसहित कुल ४८ मतदान स्थल अति संवेदनशील, ५७ संवेदनशील र ४० सामान्य सूचीमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
प्रतिक्रिया