कांग्रेसका हेबीवेट, जसले टिकटै पाएनन्

बुधबार, ०७ माघ २०८२

काठमाडौँ : कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि ०४८ सालदेखि लगातार चुनाव लड्दै आएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यसपटक चुनावी मैदानबाट बाहिर परे। डडेलधुराबाट चुनाव जित्दै पटक–पटक प्रधानमन्त्री बनेका देउवालाई कांग्रेसले यसपटक टिकट दिएन।

टिकट नपाउने सङ्केत पाएपछि उनका सचिवालयले ‘देउवा चुनाव नलड्ने’ भनी विज्ञप्ति प्रकाशित गर्‍यो। कांग्रेसका अर्का हेभीवेट एवं पार्टी उपसभापति विश्वप्रकाश शर्मा पनि चुनावमा लडेनन्। शर्माले विशेष महाधिवेशन हुनु अघि नै आगामी निर्वाचन नलड्ने घोषणा गरिसकेका थिए।

डडेलधुराबाट देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा नेविसंघका पूर्वअध्यक्ष एवं युवानेता नैनसिंह महरले टिकट पाए। अघिल्लोपटक समानुपातिक सांसद बनेकी देउवाकी पत्नी डा. आरजु देउवा राणालाई पार्टीले कैलाली–५ मा उम्मेदवारका लागि सिफारिस गरेको थियो। तर, पार्टीले उनलाई टिकट नदिइ र नरनारायण शाहलाई उम्मेदवार बनायो। शाह स्थानीय स्तरमा सक्रिय नेता हुन्।

कांग्रेसले यसपटक पुराना र लामो समय राजनीतिमा योगदान गरेका नेताभन्दा पार्टीभित्र सक्रिय रहेका र रुचि बढाएका नेतालाई प्राथमिकता दिएको छ। पार्टीका पूर्व पदाधिकारीहरू निवर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ लगायतले पनि टिकट पाएनन्। यद्यपि यी नेताहरूले अन्तिम घडीमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए।

कैलाली क्षेत्र–४ मा वीरबहादुर बलायरलाई टिकट दिइएको थियो, तर उनले टिकट नलिने भन्दै फिर्ता गरे। अघिल्लोपटक सुर्खेत–१ बाट १२ हजार मतान्तरले चुनाव जितेका निवर्तमान उपसभापति खड्काले चुनाव नलड्ने बताए। त्यस क्षेत्रमा उनका भाइ विष्णु खड्काले टिकट पाए। खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैध हुने तर्क गर्दै आएका थिए।

‘निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवनभरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने भएकाले पार्टीका साथीहरू र आममतदाताको माया, भरोसा र विश्वास हुँदाहुँदै पनि यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु,’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन्।

निवर्तमान कांग्रेस उपसभापति धनराज गुरुङले पनि यसपटक टिकट पाएनन्। गुरुङले ०७९ को निर्वाचनमा एमालेकी पद्मा अर्याललाई पराजित गरेका थिए। 

काठमाडौँ–१ बाट लगातार चुनाव जित्दै आएका प्रकाशमान सिंहले पनि टिकट पाएनन्। उनको ठाउँमा युवा नेता प्रबल थापाले उम्मेदवारी दिएका छन्। नवलपुर–१ बाट जितेका डा. शशाङ्क कोइरालाले पनि टिकट पाएनन्। उनी यसअघि ठुलो मतान्तरले चुनाव जितेका थिए।

त्यसैगरी, पूर्वगृहमन्त्री रमेश लेखक कञ्चनपुर–३ बाट १२ हजार मतान्तरले चुनाव जितेका थिए। यसपटक पनि उनी चुनाव लड्ने तयारीमा थिए, तर पार्टीले टिकट दिएन। देउवाका निकट मानिएका नेता बालकृष्ण खाँण पनि यसपटक टिकट विमुख भए। रुपन्देही–३ मा उनी निकटकै सुशील गुरुङलाई टिकट दिइएको छ।

झापा–३ बाट लगातार चुनाव लड्दै आएका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला पनि चुनाव लड्ने तयारीमा थिए। विशेष महाधिवेशन नहोस् भनेर अन्तिमसम्म लागेका उनले टिकट पाएनन्। सिन्धुपाल्चोक–२ बाट मोहनबहादुर बस्नेतले पनि टिकट पाएनन्। यसअघि उनले १२ हजार मतान्तरले चुनाव जितेका थिए।

सङ्खुवासभाबाट दीपक खड्काले पनि टिकट पाएनन्। देउवाका निकट नेता रामहरि खतिवडालाई मङ्गलवार बिहानसम्म टिकट पक्का गरियो। तर, टिकट भने ओखलढुङ्गाका स्थानीय नेतालाई दिइयो। खतिवडा उक्त क्षेत्रबाट जित्दै आएका नेता हुन्। अर्का युवा नेता पूर्व सहमहामन्त्री जीवन परियारले पनि टिकट पाएनन्।

कांग्रेसका पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठ पनि टिकटबाट वञ्चित भए। सुजाता कोइराला पनि टिकट नपाउनेमा छिन्। यद्यपि उनी चुनाव लड्ने तय गरेकी थिइनन्। डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, एनपी साउद, किशोरसिंह राठोरलगायत देउवाका निकट केही नेताले भने टिकट पाएका छन्।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार