उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी यस्तो छ

बुधबार, ०७ माघ २०८२

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दर्ता गरिसकेपछि निर्वाचन अब अन्तिम डेढ महिनाको निर्णायक चरणमा प्रवेश गरेको छ। अब दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरी उम्मेदवारहरूले प्रचारप्रसार गर्ने समय पाउनेछन्।

निर्वाचन आयोगले जनाएको छ कि उम्मेदवारहरूको अन्तिम नामावली यही शुक्रवार प्रकाशित हुनेछ र त्यसपछि आचारसंहिताअनुसार प्रचारप्रसार थालिनेछ। देशभर प्रत्यक्ष प्रणालीतर्फ ३ हजारभन्दा बढी उम्मेदवार र समानुपातिकतर्फ ३,२१३ उम्मेदवार दर्ता भइसकेका छन्।

मुख्य दलहरूले आ-आफ्ना घोषणापत्र तयारीमा जुटेका छन्।

  • नेपाली कांग्रेसले माघ १० गते घोषणापत्र सार्वजनिक गर्दै आर्थिक विकास, समृद्धि र सरकार नेतृत्व सम्बन्धी आफ्नो दृष्टिकोण सार्वजनिक गर्नेछ।

  • नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को २५ वर्षे अवधारणा अनुरूप लोकतन्त्र, राष्ट्रिय स्वाभिमान, संविधान संरक्षण र राजनीतिक स्थायित्वलाई प्राथमिकता दिने घोषणापत्र ल्याउने तयारीमा छ।

  • रास्वपा र नेपाली कम्युनिस्ट पार्टीले पनि शीघ्रै आफ्ना वाचापत्र र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।

निजी क्षेत्रका प्रतिनिधिहरूले भने दलहरूलाई आर्थिक एजेन्डामा केन्द्रित घोषणापत्र ल्याउन आग्रह गरेका छन्। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन पर्याप्त नभएको गुनासो राखेका छन्।

निर्वाचन आयोगको नियम अनुसार मतदानअघि १७ दिनसम्म मात्र प्रचारप्रसार गर्न पाइनेछ। मतदानअघि ४८ घण्टा मौन अवधि सुरु हुने भएकाले प्रचारसम्बन्धी कार्यक्रम १५ दिनमै सीमित हुनेछ।

-बिबिसी

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार