काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केही उम्मेदवार आफ्नै उमेरभन्दा लामो संसदीय यात्राका नेतासँग प्रतिस्पर्धामा उत्रिएका छन् । जेनजी आन्दोलनपछि संसद् विघटन हुँदै ‘पाको पुस्ता विस्थापित गर्ने’ घोषणासहित मैदानमा उत्रिएका युवा उम्मेदवारहरू दशकौँदेखि संसद् राजनीतिमा सक्रिय नेताहरूलाई चुनौती दिँदै छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासोको विषय बनेको झापा–५ मा निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले चुनौती दिएका छन् । ७४ वर्षीय ओलीले २०४८ सालमा पहिलो पटक संसदीय निर्वाचन लड्दा शाह मात्र २ वर्षका थिए । ओलीको ३४ वर्षे संसदीय यात्राभन्दा कम उमेरका मात्रै पाँच जना उम्मेदवार यस क्षेत्रमा छन् ।
ओली २०४८ र २०५१ मा झापा–६ बाट निर्वाचित भएका थिए । २०५६ मा झापा–२ र ६ बाट जितेका उनले २०६४ मा पराजय भोगे । २०७० मा झापा–७ बाट विजयी भएका ओली २०७४ र २०७९ मा झापा–५ बाट निर्वाचित भए । ४० वर्षको उमेरमा पहिलो पटक चुनाव लडेका ओली ३४ वर्षको राजनीतिक यात्रामा आठौँ पटक उम्मेदवार बनेका हुन् ।
झापा–५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त साम्पाङ राई सबैभन्दा कान्छा उम्मेदवार हुन् भने ओली सबैभन्दा पाको उमेरका । ओलीको संसदीय यात्रासरह उमेर भएका उम्मेदवारमा श्रम संस्कृति पार्टीका ३३ वर्षीय समीर तामाङ, नेकपा माओवादीका ३२ वर्षीय सञ्जय राई, स्वतन्त्र उम्मेदवार ३३ वर्षीय विपुल गुरागाईं र ३० वर्षीय पुष्कर खतिवडा छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले दलहरूमध्ये सबैभन्दा धेरै युवा उम्मेदवार अघि सारेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये झन्डै ४० प्रतिशत उम्मेदवार ४० वर्षमुनिका छन् । ४० वर्षमुनिका ६५ उम्मेदवारमध्ये ९ जना महिला छन् । निर्वाचन आयोगका अनुसार ३० वर्षमुनिका १७ जना उम्मेदवार रास्वपाबाट चुनावी मैदानमा छन् । सबैभन्दा कम उमेरका उम्मेदवार मकवानपुर–२ का प्रशान्त उप्रेती र मुगुका भुवन टम्टा हुन् । दुवै २५ वर्षका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि उनको संसदीय यात्राभन्दा कम उमेरका प्रतिस्पर्धी मैदानमा छन् । ३९ वर्षको उमेरमा राष्ट्रिय सभाबाट संसदीय राजनीतिमा प्रवेश गरेका नेपालको संसदीय यात्रा ३४ वर्ष लामो छ । रौतहट–१ मा उनका ३९ जना प्रतिस्पर्धीमध्ये ६ जनाको उमेर ३४ वर्ष वा सोभन्दा कम छ ।
उनको संसदीय यात्रा सुरु हुँदा जन्मिएकै थिएनन् भन्ने प्रतिस्पर्धीमा नेपाली जनता दलका ३७ वर्षीय सञ्जयकुमार यादव, जय मातृभूमि पार्टीका ३२ वर्षीय रञ्जितकुमार पटेल, सार्वभौम नागरिक पार्टीका ३८ वर्षीय सुनिलप्रसाद कुशवाह, उज्यालो नेपाल पार्टीका ३३ वर्षीय उमेशकुमार शाह, राष्ट्रिय मुक्ति पार्टीका ३७ वर्षीय मो. तनवीर अख्तर मिकरानी र जनअधिकार पार्टीका ३६ वर्षीय सञ्जयकुमार यादव छन् । स्वतन्त्र उम्मेदवारमध्ये २६ देखि ३९ वर्ष उमेर समूहका सात जना छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक २०६४ सालमा संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । झन्डै २० वर्षमा उनले सिराहा, काठमाडौं, रोल्पा, चितवन, गोरखा हुँदै यसपटक रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन् । ७० वर्षीय प्रचण्डलाई ४० वर्षमुनिका पाँच जना उम्मेदवारले चुनौती दिएका छन् । तीमध्ये प्रगतिशील लोकतान्त्रिक पार्टीका २८ वर्षीय सन्दीप पुन र राप्रपाका ३० वर्षीय रोशन शाह प्रमुख छन् ।
सर्लाही–२ बाट उम्मेदवार ८८ वर्षीय महिन्द्र राय यादवको राजनीतिक करिअर ६ दशकभन्दा लामो छ । उनको ३१ वर्षे संसदीय यात्रासरह उमेरका तथा ४० वर्षमुनिका गरी ३१ जना प्रतिस्पर्धी मैदानमा छन् ।
महोत्तरी–२ का ७१ वर्षीय शरदसिंह भण्डारी २०३८ सालदेखि संसदीय राजनीतिमा सक्रिय छन् । ४४ वर्षे संसदीय यात्रामा २० पटकभन्दा बढी मन्त्री बनेका भण्डारीसँग ४० वर्षमुनिका २० जना प्रतिस्पर्धी छन् । यस क्षेत्रमा कुल ३७ जना उम्मेदवार छन् ।
देशभर स्वतन्त्र उम्मेदवारमध्ये करिब आधा ४० वर्षमुनिका छन् । निर्वाचन आयोगका अनुसार कुल १,१८८ स्वतन्त्र उम्मेदवारमध्ये ४२ प्रतिशत अर्थात् करिब ५ सय जना ४० वर्षमुनिका हुन् । जेनजी आन्दोलनपछि नेतृत्व र पुस्तान्तरणको माग तीव्र बने पनि दलभन्दा स्वतन्त्रमार्फत युवाहरू राजनीतिक प्रतिस्पर्धामा उत्रिएको देखिन्छ ।
यो सामाचार आजको राजधानी दैनिकबाट साभार गरिएको हो ।
प्रतिक्रिया