बाचाबिनै मैदानमा दल, घोषणापत्र न कमान्डर

मंगलबार, १३ माघ २०८२
pic : AI

काठमाडौं : आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। राजनीतिक दल र उम्मेदवारहरू चुनावी मैदानमा घोषणापत्र र कमान्डरबिनै उत्रिएका छन्। विजयी भएपछि सरकार बनाउने दलले आगामी दिनमा के गर्ने भन्ने स्पष्ट प्रतिबद्धता नदिई मतदाताबाट मत मागिरहेको अवस्था छ।

उम्मेदवारहरूले भेटघाट र घरदैलो गर्दै मतदाता रिझाउने प्रयास गरिरहेका छन्। प्रमुख राजनीतिक दलहरूले भविष्यको प्रधानमन्त्री को हुनेछ भन्ने निर्णय गरिसके पनि, निर्वाचनपछि के गर्ने भन्ने घोषणापत्र तयार गर्ने काम भइरहेको छ। विभिन्न दलले पार्टीको बैठकबाटै घोषणापत्र निर्माणका लागि समितिहरू गठन गरेका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, रास्वपा, राप्रपा लगायतका दल घोषणापत्र लेखनको अन्तिम तयारीमा छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले भने आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन्।

कांग्रेसले सभापति गगनकुमार थापाको अध्यक्षतामा समिति गठन गरेर घोषणापत्र तयार पारिरहेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार, देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकबाट सुझाव संकलन गरी छिट्टै काठमाडौंमा सार्वजनिक गरिनेछ। चालिसेले भने, “हाम्रो घोषणापत्रमा जेनजी आन्दोलनमा उठेका सुशासन र सहज सेवाप्रवाहका माग समावेश हुनेछन्। प्रमुख घोषणापत्रको साथै उम्मेदवारहरूले आफ्ना निर्वाचन क्षेत्रका योजनाअनुसार छुट्टै घोषणापत्र तयार गर्नेछन्।”

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको छ। एमाले नेता मीनबहादुर शाहीका अनुसार लेखन कार्य अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक गरिनेछ। घोषणापत्रमा मुलुक निर्माण, जनजीविकाको सुधार, आर्थिक पुनरुत्थान, राष्ट्रिय स्वाभिमान र समावेशी विकासको विषय समेटिनेछ।

नेकपा पनि नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी गठन गरी घोषणापत्र लेखनको अन्तिम चरणमा पुगेको छ। नेता अग्निप्रसाद सापकोटाले भने, “काठमाडौंमा भव्य कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिनेछ।

यसमा पछिल्लो राजनीतिक अवस्था, जेनजी आन्दोलनको समीक्षा, रूपान्तरणका विषयवस्तु, वस्तुवादी विकास, राजनीतिक र संरचनागत सुधारको प्राथमिकता समावेश हुनेछ।”

रास्वपाले उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदलमार्फत घोषणापत्र तयार पारी यसै साता सार्वजनिक गर्ने तयारी गरेको प्रवक्ता मनिष झाले बताए। रास्वपाको घोषणापत्रमा राष्ट्रिय मुद्दासँगै कृषि, पर्यटन, रोजगार लगायतका विषय समेटिनेछ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा कमिटी गठन गरी चुनावी घोषणापत्र लेखनको काम अन्तिम चरणमा पुर्‍याएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाए। उनका अनुसार यसै साता घोषणापत्र सार्वजनिक गरिनेछ।

यसमा पूर्ण समानुपातिक निर्वाचन, उच्चपदस्थ राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति सार्वजनिक, सामाजिक–आर्थिक रूपान्तरणजस्ता विषय समेटिने छन्।

प्रतिनिधिसभाका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा मतदान हुनेछ। विभिन्न ६८ दलबाट ३,४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले मत दिने अवसर पाउनेछन्। निर्वाचन आयोगले १०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र निर्धारण गरेको छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार