काठमाडौँ : काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा हाल झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन शाहले प्रयोग गरिरहेको महँगो सवारीसाधनलाई लिएर सार्वजनिक बहस सुरु भएको छ । करिब ८ करोड रुपैयाँ मूल्य बराबरको भनिएको ल्यान्डरोभर गाडीको स्वामित्व, दर्ता प्रकृति र प्रयोगबारे प्रश्न उठेपछि यो विषय कानुनी र नैतिक बहसको केन्द्रमा पुगेको हो ।
बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले उक्त गाडी निजी स्वामित्वको नभई भाडामा लिइएको बताएका छन् । तर, यही दाबीपछि गाडी कसको हो र कुन आधारमा भाडामा उपलब्ध गराइएको हो भन्ने विषयमा थप चासो बढेको छ ।
सार्वजनिक रूपमा आएका विवरणअनुसार उक्त सवारीसाधन सुर्ती तथा गुट्खा व्यवसायसँग जोडिएका व्यापारी कमलकिशोर मालपानीसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ । उनी ‘रेन्ट–अ–कार’ व्यवसायमा समेत संलग्न रहेको दाबी गरिए पनि यससम्बन्धी आधिकारिक कागजात वा व्यावसायिक विवरण भने हालसम्म सार्वजनिक भएका छैनन् ।
दर्ता प्रणाली र ट्राफिक नियममा प्रश्न
विवादको मुख्य केन्द्र सवारी दर्ता प्रणालीसँग जोडिएको कानुनी पाटो बनेको छ । नेपालमा रातो नम्बर प्लेट भएका सवारीसाधन निजी प्रयोजनका लागि मात्र प्रयोग गर्न मिल्ने व्यवस्था छ । यदि त्यस्तो सवारी साधन भाडामा प्रयोग गरिएको प्रमाणित भए ट्राफिक नियमअनुसार त्यो कानुन उल्लंघन मानिने कानुन व्यवसायीहरू बताउँछन् ।
यसै आधारमा प्रश्न उठाइएको छ— यदि गाडी साँच्चै भाडामा लिइएको हो भने त्यसको दर्ता प्रकार के हो ? निजी प्रयोजनका लागि दर्ता गरिएको सवारीसाधन व्यावसायिक रूपमा प्रयोग गरिएको हो कि होइन ?
ट्राफिक नियमावलीअनुसार निजी सवारीसाधन भाडामा प्रयोग गरिएको पुष्टि भए चालकलाई जरिवाना हुने र यात्रुलाई यात्रा जारी राख्न नदिने व्यवस्था छ ।
राजनीतिक र नैतिक बहस
यो विषयले राजनीतिक र नैतिक बहस पनि जन्माएको छ । सार्वजनिक पदमा रहिसकेका तथा पुनः जनप्रतिनिधि बन्न खोजिरहेका व्यक्तिले प्रयोग गर्ने सुविधा, स्रोतको पारदर्शिता र सम्भावित स्वार्थबारे मतदाताले प्रश्न उठाउनु स्वाभाविक भएको विश्लेषकहरूको भनाइ छ ।
अर्कोतर्फ, बालेन समर्थकहरूले भने यो विषयलाई अनावश्यक रूपमा उचालिएको र राजनीतिक रूपमा प्रेरित बहस भएको दाबी गरेका छन् ।
प्रतिक्रिया