निर्वाचन : काठमाडौं–झापा सुरक्षा थ्रेट, हिमाली जिल्ला संवेदनशील

शुक्रबार, १६ माघ २०८२

काठमाडौं : निर्वाचन आयोगका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यका, झापा र हिमाली जिल्लाहरू संवेदनशील क्षेत्रका रूपमा देखिएका छन् । आयोगले एकीकृत सुरक्षा संयन्त्रसँगको परामर्शमा तयार पारेको आन्तरिक प्रतिवेदनमा ती क्षेत्रहरूलाई संवेदनशील क्षेत्रको रूपमा नक्सांकन गरिएको हो ।

निर्वाचनका क्रममा मौसमको सम्भावित प्रतिकूलताको विश्लेषण गर्दै हिमाली जिल्लाहरूलाई संवेदनशील सूचीमा राखिएको आयोगले जनाएको छ । सोही आधारमा हुम्ला, कालिकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका निर्वाचन क्षेत्रहरूलाई मौसमका हिसाबले संवेदनशील मानिएको हो ।

काठमाडौं उपत्यका र झापालाई भने निर्वाचन आयोग र एकीकृत सुरक्षा संयन्त्रले सुरक्षा संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरेका छन् । झापा–५ मा निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीका कारण सम्भावित सुरक्षा चुनौतीको समेत विश्लेषण गरिएको एकीकृत सुरक्षा संयन्त्र स्रोतले जनाएको छ ।

रास्वपाका समर्थक तथा कार्यकर्ताबाट ओलीलाई लक्षित गरी हुन सक्ने सम्भावित अवरोध र त्यसपछि उत्पन्न हुन सक्ने प्रतिकार्यको मूल्यांकन गर्दै सुरक्षा पूर्वानुमान गरिएको सुरक्षा स्रोतले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले हरेक निर्वाचन क्षेत्रको सूक्ष्म विश्लेषणसहित सुरक्षा तयारीको प्रतिवेदन बुझाइसकेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालका अनुसार जिल्लाका ९५ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । कुल २८५ मतदानस्थलमध्ये १४७ संवेदनशील र ४३ सामान्य रहेको उनले जानकारी दिए ।

जिल्लामा ८१५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने प्रजिअ गेलालले बताए । झापा–५ मा सुरक्षा संवेदनशीलता उच्च देखिएपछि विगतभन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने ठहर गर्दै प्रदेशसँग थप जनशक्ति माग गरिएको पनि उनले जानकारी दिए । पाँच निर्वाचन क्षेत्र रहेको झापामा कुल ७ लाख १३ हजार ५ सय ३७ मतदाता छन् ।

दुर्गम जिल्लाका लागि मतपत्र तयारी

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न गरी प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको जनाएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत हुम्ला, कालिकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको र समयमै सम्बन्धित जिल्लामा पुग्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता शिक्षा कार्यक्रमसमेत सुरु गरिसकेको छ । मतदाता शिक्षाका लागि नमुना मतपत्र सबै जिल्लामा पुगिसकेको आयोगको भनाइ छ । कुल १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ गरी वितरण गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

अन्य जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको र २५ माघदेखि ५ फागुनसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको आयोगले जनाएको छ । समानुपातिक प्रणालीतर्फका दुई करोडभन्दा बढी मतपत्रको छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार