झापाबाट पक्राउ परेका तोडफोड र आगजनीमा संलग्न १३ जना पुर्पक्षका लागि थुनामा

बुधबार, १७ मंसिर २०८२
सांकेतिक फोटो

झापा : जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न भएको आरोपमा झापाबाट पक्राउ परेका मध्ये १३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । 

तोडफोड र आगजनी गरेको आरोपमा झापाबाट ४६ जना पक्राउ परेकोमा १३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने झापा जिल्ला अदालतले आदेश गरेको हो । त्यसैगरी झापाबाट पक्राउ परेका ३ जना धरौटीमा छुटेको र ७ जना हाजिरी जमानीमा रिहा भएका छन । पक्राउ परेका अन्यका विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेका केही नावालक भएकाले सम्झाइ–बुझाइ अभिभावकको जिम्मामा छाडिएको समेत प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनकै क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा मोरङबाट ३९ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङंले जनाएको छ । पक्राउ परेकाहरुलाई दुई चरणमा मोरङका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार पहिलो चरणमा २१, दोस्रो चरणमा १० र इलाका प्रहरी कार्यालय रंगेली क्षेत्रमा तोडफोडमा संलग्न थप ८ जनालाई विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको थियो ।

त्यसैगरी सुनसरीबाट प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा  ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेवेले जानकारी दिए । पक्राउ परेकाहरु  इटहरी क्षेत्रमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको समेत थेवेले वताए । 

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न भएको आरोपमा झापा, मोरङ र सुनसरीका ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाबाट ४६, मोरङबाट ३९ र सुनसरीबाट ४ जना रहेका छन्।

प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र फोटोका आधारमा पहिचान गरेर समेत तोडफोड र आगजनीमा संलग्नहरुलाई पक्राउ गरेर कानूनी  प्रक्रिया अगाडि बढाइरहेको समेत जनाइएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार