झापा : मेचीनगर नगरपालिकाले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा विभिन्न प्रतियोगिता कार्यक्रमका साथ कला र सांस्कृतिक गतिविधि गरेर मनाइएको हो ।
नगरका करिब एक सय अपाङ्गता भएका व्यक्तिको सहभागितामा बुधबार सियो दौड, चम्चा दौड, हाजिरी–जवाफ तथा सिर्जनात्मक कला प्रस्तुतिकरण कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो ।
“अपाङ्गता समावेशी समाजको प्रवद्र्धन ः सामाजिक उन्नतिको संवद्र्धन” भन्ने नाराका साथ मनाइएको कार्यक्रममा निर्णायकमा नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, आदर्श मावि ईटाभट्टाका प्रधानाध्यापक कृष्ण पुरी र पूर्व प्रधानाध्यापक हेम खड्का रहेका थिए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अपाङ्गता भएका व्यक्तिहरूले ‘‘सपाङ्ग व्यक्ति जत्तिकै काम गर्न सक्ने क्षमता राख्छन्’’ भन्दै नगरपालिकाले उनीहरूलाई विशेष प्राथमिकताका साथ हेर्दै आएको बताए । उनले नगरपालिकाले घर–घर गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको भन्दै विगतका कमजोरी सच्याउँदै समावेशी नीतिहरू कार्यान्वयनमा ल्याइँने जानकारी गराए । नगरप्रमुख बुढाथोकीले नगरमा अटिजम भएका बालबालिकाको समस्या झनै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै ‘‘निकट भविष्यमा नगरमै अटिजम केन्द्र निर्माण गर्ने प्रक्रिया अघि बढाइएको’’ समेत वताए ।
मेचीनगर नगरपालिकाको तथ्याँक अनुसार नगर क्षेत्रमा १ हजार ६ सय २३ जना अपाङ्गता भएका व्यक्ति तथा ९२ जना अटिजम भएका बालबालिका रहेका छन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, जीभीभी विज्ञ कमला उप्रेती, पूर्व क्षितिज अपाङ्ग सेवा संघका अध्यक्ष धर्मराज घिमिरे लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा नगरका सबै वडाबाट छानिएका प्रत्येक ५ जना ओपेडीका प्रतिनिधि, अपाङ्गता सशक्तिकरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तोकप्रसाद दुलाल, विभिन्न संघ–संस्थाका पदाधिकारीसहित उपस्थिती रहेको थियो भने कार्यक्रम अपाङ्गता समन्वय समिति सदस्य तथा कार्यपालिका सदस्य अञ्जु थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रतिक्रिया