इटहरी । नेपाली काँग्रेस सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीको बुधबार बसेको बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावाली संकलन गर्न सकुर्लर गर्ने र त्यसपछि प्राप्त नामावालीका आधारमा नवीकरण नगर्ने निर्णय भएको हो । जिल्ला सभापति केदार भण्डारीका अनुसार जिल्लाभर जुनसुकै स्थानमा आन्दोलनमा सहभागी भएर आगजनी, तोडफोड र लुटपाट गर्ने कार्य अपराधिक भएकाले पार्टीलाई परिमार्जित र रुपान्तरण गरेर लैजान यस्तो निर्णय गरिएको हो ।
जिल्लाले गरेको निर्णयका आधारमा प्रदेश कार्यसमितिले पनि केन्द्रीय समितिलाई सिफारिस गर्ने प्रदेश महामन्त्री उमेश थापाले बताए । उनका अनुसार गलत व्यक्तिलाई पार्टीले संरक्षण गर्ने छैन्, खोजी खोजी निस्कासन गर्नेछ ।
सुनसरीमा जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी निकायको मात्रै एक अर्ब १७ करोडभन्दा बढीको क्षती भएको थियो । निजी क्षेत्रको क्षतीको अहिलेसम्म क्षतीको विवरण संकलन हुन सकेको छैन् ।
जिल्लाका ३३ वटा सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट एक अर्ब १७ करोड तीन लाख ३८ हजार ८३५ रुपैयाँको क्षती भएको जिल्ला प्रशासन कार्यालयको रकेर्डमा उल्लेख छ । जिल्लामा रहेका दुइ नगरपालिका, चार नगरपालिका र छ गाउँपालिकामध्ये हरिनगर र बर्जुबाहेक अन्यमा तोडफोड तथा आगजनी भएको थियो । यीमध्ये सवैभन्दा बढी क्षती इटहरी उपमहानगरपालिका अन्तर्गत भएको थियो । सरकारी कार्यालयमध्ये सवैभन्दा बढी इटहरी क्षेत्रमै आगजनी तथा तोडफोड गरिएको थियो ।
यी सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा काँग्रेसका जिम्मेवार नेताकै संलग्नता भएका गुनासो सर्वत्र आएपछि पार्टीले यस्तो निर्णय गरेको जानकारी दिइयो ।
इटहरीमा जेन जी आन्दोलनका क्रममा भदौं २३ गते इटहरी वडा नं. १४ का ४० वर्षे मोहन सरदार र इनरुवा वडा नं. ६ घर भइ इटहरी आफन्तकोमा बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको मृत्यु भएको थियो । काँग्रेसले २४ गते जिल्लाभर बढी मात्रमा सरकारी तथा निजी व्यक्तिको सम्पति क्षती गरेकाले त्यसमा संलग्नको सुक्ष्म ढंगले विवरण तयार पार्ने भएको छ ।
आन्दोलनका क्रममा काँग्रेसबाट विजयी इटहरीका मेयर हेमकर्ण पौडेलको अढाई तले पक्की घर आगजनीबाट पूर्ण रुपमा क्षती भएको थियो । यस्तै, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् एमाले नेता रेवतीरमण भण्डारीको इटहरीमै रहेको घरमा सामान्य क्षती पुगेको थियो ।
उत्ता, धरानमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड भएको थियो । यसैगरी, धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख मनोज मेन्याङ्वो, पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली काँग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, काँग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङ्लगायतको निजी घरमा तोडफोड भएको थियो । पूर्व मेयर मेन्याङ्वोको कञ्चनजंघा होटल पनि तोडफोड गरिएको थियो ।
आन्दोलनका क्रममा काँग्रेससबाट विजयी कोशी गाउँपालिका अध्यक्ष अयूव अन्सारीको इनरुवामा रहेको घरमा आगजनी आगजनी गरिएको थियो । यस्तै, इनरुवाका मेयर एवम् काँग्रेस जिल्ला सभापति केदार भण्डारीको घरमा पनि आगजनी गरिएको थियो । प्रदर्शनकारीले इनरुवामै रहेको सुनसरी क्षेत्र नं. २ का निवर्तमान संघीय सांसद एवम् एमाले नेता भीम आचार्य र इनरुवा वडा नं. ६ का वडाध्यक्ष सुमन थापाको घरमा पनि क्षती पु¥याएका थिए । धरान र इटहरीमा भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो ।
प्रतिक्रिया