नवलपरासी : प्रधानमन्त्री सुशिला कार्कीले मौसम अनुकूल नभएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउने बताएकी छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीको हात्तिखोरमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले मौसम अनुकूल नभएमा विशेषगरी हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउछौं भनेकी हुन् ।
प्रधानमन्त्री कार्की राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी हुन नवलपरासी पुगेकी थिइन । सोही समयमा प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भनिन, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।”
कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताइन । अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न प्रधानमन्त्री कार्कीले आग्रह समेत गरिन । समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको समेत प्रधानमन्त्री कार्कीले बताइन ।
“शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छाँै, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ”, प्रधानमन्त्री कार्कीले भनिन । विशेष परिस्थितमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन ।
प्रतिक्रिया